प्रधानमन्त्री प्रचण्ड आज भारत जाँदै, मोदीको शपथग्रहण समारोहमा सहभागी हुने

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आज भारतको औपचारिक भ्रमणमा जाँदै छन् ।

आज नै नयाँ दिल्लीमा हुने प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जान लागेका परराष्ट्र मन्त्रालयले जनाएको छ । मोदीले  शपथ लिएपछि प्रधानमन्त्री प्रचण्ड र उनीबीच आज नै भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँ दिल्लीस्थित नेपाली दूतावासका एक अधिकारीले बताए । ती अधिकारीले भने, “प्रधानमन्त्रीद्वयबीच संक्षिप्त भेटवार्ता हुनेछ ।”

प्रधानमन्त्री प्रचण्डका साथ उनकी सुपुत्री गंगा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी र उच्चपदस्थ सरकारी कर्मचारी रहनेछन् । प्रधानमन्त्री यही जेठ २८ गते स्वदेश फर्कने कार्यक्रम छ ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकबाट मोदीको शपथग्रहणमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने निर्णय गरिएको थियो ।

गएको बुधबार प्रधानमन्त्री प्रचण्ड र उनका भारतीय समकक्षी मोदीबीच टेलिफोन वार्ता भएको थियो । त्यस अवसरमा उनीहरूबीच आपसी हित र साझा चासोका विविध विषयमा विचारविमर्श भएको थियो । प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन अब गठन हुने सरकारसँग साझेदारी एवं सहकार्य गर्न आफू तत्पर रहेको बताएका थिए ।

प्रत्युत्तरमा मोदीले भनेका थिए, “प्रधानमन्त्री प्रचण्डसँग कुरा गर्न पाउँदा अत्यन्तै खुसी लाग्यो । उहाँको न्यानो शुभकामनाको लागि उहाँलाई धन्यवाद व्यक्त गरेँ । भारत र नेपालबीचको गहिरो र बहुआयामिक साझेदारीलाई सुदृढ गर्ने हाम्रो साझा प्रतिबद्धतामाथि जोड दिँदै हाम्रो सम्बन्धमा सकारात्मक गति कायम राख्ने कुरामा सहमत भयौँ ।”

सात चरणमा भारतमा सम्पन्न लोकसभा निर्वाचन परिणामानुसार नेसनल डेमोक्र्याटिक एलायन्स (एनडीए) २९३ स्थानमा विजयी भएको छ । प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टी (भाजपा)ले २४० सिट जितेको छ ।

एनडीएको समर्थनमा भारतीय जनता पार्टीका नेता मोदीले आइतबार अपराह्न तेस्रो कार्यकालका निम्ति शपथग्रहण गर्ने निश्चित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपति भवनमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति द्रौपदी मुर्मूले प्रधानमन्त्री मोदी र मन्त्रिपरिषद् सदस्यहरूलाई शपथ गराउने कार्यक्रम छ ।

मोदीको शपथग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्डसँगै भारत सरकारले श्रींकाका राष्ट्रपति रनिल विक्रमासिंघे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र मोरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथलाई पनि निमन्त्रणा गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्