तालचोक–बेगनास सडक विस्तारमा ढिलासुस्ती, स्थानीय र पर्यटकलाई सास्ती

समाचार बिज
  • ख-
  • ख+

२५ जेठ, पोखरा । पोखरा महानगरपालिका–२७ तालचोकदेखि वडा नं ३१ बेगनासताल जोड्ने चार लेन सडक विस्तारमा ढिलासुस्ती हुँदा स्थानीयमात्र नभई पर्यटकले पनि सास्ती खेप्दै आएका छन् । ०७९ चैतदेखि निर्माण थालिएको यो सडक खण्ड विस्तारको हालसम्म जम्मा २५ प्रतिशत भौतिक प्रगति छ ।

यसै वर्ष निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएपनि निर्माण कम्पनीको ढिलासुस्तीका कारण उक्त सडक आयोजनाले गति लिन नसकेको हो । पृथ्वी राजमार्गसँग जोडिएको उक्त सडक बेगनास, रुपा गाउँपालिका हुँदै लमजुङ जोडिन्छ । महानगरकै गौरवको आयोजनाका रुपमा तालचोक–बेगनास सडक स्तरोन्नतिलाई अगाडि बढाइएको हो ।

तालचोक–बेगनास सडक पृथ्वी राजमार्गसँग पनि जोडिएकाले आर्थिक र पर्यटन गतिविधि थप बढ्ने वडाध्यक्ष गुरुङको भनाइ छ । पोखरा–मुग्लिन सडक पनि अहिले चार लेनमा स्तरोन्नति भइरहेको छ । कमसल सडककै कारण पछिल्लो समय बेगनास ताल घुम्न जाने पर्यटक घटेकामा स्तरोन्नति बेलैमा सक्नुपर्ने बेगनास तालका डुंगा व्यवसायी शिवप्रसाद पाण्डेले बताए ।

‘चार लेनको सडक बन्दा बेगनास क्षेत्रको आउजाउ सजिलो बन्छ, यहाँको पर्यटनले पनि नयाँ गति लिन्छ’, पाण्डेले भने, ‘सडक निर्माणमा ढिलासुस्ती हुन दिनहुँदैन, महानगर पनि यसमा चनाखो रहनुपर्छ ।’ निर्माणका चरणमा भएकाले पर्यटकका लागि उक्त सडकको यात्रा कष्टपूर्ण बनेको उनको भनाइ छ ।

पोखरा महानगरपालिकाको सडक शाखाका इन्जिनियर नवीन गौतमका अनुसार केही समयअघि कामै रोकेको ठेकेदार कम्पनीले पुनः अहिले जनशक्ति र उपकरण थपेर काम सुरु गरेको छ । ‘निर्माण कम्पनीले प्रतिबद्धताअनुसार कामलाई गति दिन सकेका छैन’, उनले भने, ‘समयमा काम सक्न ताकेता गरिरहेका छौँ ।’

विश्व बैंकको आर्थिक सहयोगमा ३.२८ किलोमिटरको उक्त सडकलाई चार लेनमा स्तरोन्नति गर्न ‘स्वच्छन्द–सपना–वर्ल्डवाइड जेबी’ले निर्माण जिम्मा पाएको छ । ठेक्का सम्झौता भएको एक वर्षपछि बल्ल सडक निर्माण सुरु भएको थियो । भ्याठबाहेक ७५ करोड ४८ लाख रुपैयाँमा ठेक्का सम्झौतामा ठेकेदार कम्पनीले काम गरिरहेको छ ।

फुट ट्रयाक, साइकल लेन र पार्किङसहितको नुमना सडक बन्ने इन्जिनियर गौतमको भनाइ छ । सडक छेउछाउमा बगैँचा, सडक बत्तीलगायत आकर्षक पूर्वाधार बनाइने महानगरले जनाएको छ । सडकमा ३ वटा पुल पनि बन्नेछन् । अहिले सडक विस्तार, कल्भर्ट, नाला र पर्खाल निर्माण भइरहेको छ ।

सडक निर्माणमा ढिलाइ हुँदा स्थानीयवासी र यात्रुलाई धूलो र हिलोको सास्ती खेप्न बाध्य भएको पोखरा–२७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले बताए ।

‘अब बर्खा सुरु भयो, सडकमा हिँडिसाध्ये हुँदैन, निर्माण कम्पनीलाई समयमै काम सक्न सम्बद्ध पक्षले दबाब बढाउनुपर्छ’, उनले भने, ‘अहिलेकै गतिले काम भएमा आउँदो वर्ष पनि सडक निर्माण हुने छाँटकाट देखिन्न ।’

केही दिनअघि निर्माण कम्पनीका मुख्य प्रतिनिधि आफैँ आएर कामलाई गतिदिने प्रतिबद्धता जनाएको वडाध्यक्ष गुरुङले बताए । निर्माण कम्पनीको आन्तरिक स्रोत र जनशक्ति परिचालनमा समस्या देखिएको उनको भनाइ छ ।

‘अहिले कामदार र उपकरण केही थपेर काम गरिरहेको देखिन्छ’, वडाध्यक्ष गुरुङले भने, ‘आयोजनामा बजेटको कुनै समस्या छैन, निर्माण कम्पनीकै कारण काम ढिलो भएको हो ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्