पूर्वराष्ट्रपति ट्रम्प ३४ वटा कसुरमा दोषी ठहरिएपछिको अमेरिकी राजनीति

समाचार बिज
  • ख-
  • ख+

पोर्नस्टारसँगको सम्बन्ध लुकाउन पैसा दिएको सम्बन्धी मुद्दाको विभिन्न ३४ वटा कसुरमा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दोषी ठहर भएका छन्।

सन् २००६ मा पोर्नस्टार स्टोर्मी ड्यानिएल्ससँगको यौन सम्बन्ध बाहिरिए सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा हार्न सक्ने डर ट्रम्पलाई थियो। त्यसकारण आफ्ना वकिल माइकल कोहेनमार्फत् स्टोर्मीलाई चुप लगाउन एक लाख ३० हजार डलर दिन लगाएका थिए।

त्यस्तो कुरा लुकाउन त्यसरी पैसा दिनु गैरकानुनी होइन। तर उनले त्यसलाई आफ्नो व्यापारिक खर्चका रूपमा देखाएका थिए। न्यूयोर्कको कानुन अनुसार त्यसरी झुटो व्यापारिक खर्च विवरण देखाउनु भने सामान्य खालको अपराध हो।

तर ट्रम्पले अमेरिकी जनताबाट आफ्नो सम्बन्ध लुकाएर आफूलाई राष्ट्रपतीय निर्वाचन जिताउन झुटो व्यापारिक खर्च विवरण देखाएको भन्दै म्यानह्याटनका जिल्ला सरकारी वकिल एल्भिन ब्र्यागले त्यसलाई गम्भीर अपराधको मुद्दा बनाएका थिए।

सरकारी वकिलहरूले ट्रम्पलाई सजाय दिलाउन सो भुक्तानी कोहेनले ट्रम्पको आदेशमा गरेको र स्टोर्मीलाई पैसा दिएवापत् कोहेनलाई तिरेको पैसा कानुनी खर्च भनेर झुटो विवरण देखाएको भन्ने कुरा ट्रम्पलाई थाहा थियो भन्ने प्रमाणित गर्नुपर्थ्यो।

आफैले धेरै मुद्दा खेपेका कोहेन स्वयंले कम सजाय पाउन ट्रम्पविरूद्ध सरकारी गवाह बनेपछि यो सजिलै प्रमाणित भयो।

लामो समयसम्म बहस चलेको यो मुद्दाका १२ जना जुरी सदस्यले ९ घन्टाको छलफलपछि सर्वसम्मत रूपमा बिहीबार ट्रम्पलाई दोषी ठहर गरेका छन्।

जघन्य र फौजदारी अपराधको मुद्दा लागेको पहिलो पूर्वअमेरिकी राष्ट्रपति बनेका ट्रम्प यो फैसलापछि गम्भीर अपराधको मुद्दामा दोषी ठहरिने पनि पहिलो पूर्वअमेरिकी राष्ट्रपति भएका छन्।

उनलाई अहिले दोषी ठहर गरे पनि सजाय भने जुलाई ११ मा घोषणा गरिने छ। त्यो भनेको रिपब्लिकन पार्टीले उनलाई आधिकारिक उम्मेदवार घोषणा गर्ने अपेक्षा गरिएको अधिवेशनभन्दा केही दिनअघि हो। जेल सजाय नै घोषणा भए पनि सो अधिवेशनले ट्रम्पलाई राष्ट्रपतिका लागि रिपब्लिकन पार्टीको उम्मेदवार घोषणा गर्ने लगभग पक्का छ।

जेल सजाय भए उनले त्यसविरूद्ध अपिल गर्न पाउने छन्। र, त्यो अपिलको फैसला नोभेम्बरमा हुने चुनावअघि आउने सम्भावना धेरै कम छ। आयो र उनले अपिल हारेर जेलमै बस्नुपर्‍यो भने पनि उनले जेलभित्रैबाट चुनाव लाड्न पाउँछन्।

नेपालमा फौजदारी अभियोगमा दोषी प्रमाणित भएर सजाय काटिरहेको वा भिन्नभिन्न अपराध अनुसार कैद भुक्तान गरेको व्यक्ति निश्चित समय नपुगुञ्जेल प्रतिनिधि सभा सदस्यका लागि चुनाव लड्न पाउँदैन। तर अमेरिकामा जनताले राष्ट्रपतीय निर्वाचनमा सही निर्णय गर्छन् भन्ने मान्यता छ। त्यसैले ट्रम्प गम्भीर अपराधको अभियोगमा दोषी प्रमाणित भएर जेलमै रहे पनि निर्वाचन लड्न पाउने छन्।

प्रथम विश्व युद्धमा अमेरिकी सहभागिताको विरोध गरेकाले सन् १९१८ मा राजद्रोहको अभियोगमा दस वर्ष जेल परेका युजेन डेब्सले सन् १९२० मा सोसियलिस्ट पार्टीबाट राष्ट्रपतीय निर्वाचन लडेर ३ प्रतिशतभन्दा धेरै मत ल्याएका थिए।

अब यो मुद्दा र यसको फैसलाले ट्रम्पलाई चुनावमा फाइदा हुन्छ कि घाटा भन्नेबारे चर्चा गरौं।

अमेरिकामा संघीय महान्यायाधिवक्ता राष्ट्रपतिले नियुक्त गरे पनि जिल्ला र राज्यका सरकारी वकिलका लागि भने चुनाव हुन्छ। ट्रम्पको पोर्नस्टारबारेको लगभग सबैकुरा सन् २०१८ मै थाहा भए पनि यसको खासै मतलब नहुने भन्ने ठानेर २०२१ को सुरूमा राष्ट्रपतिको पदभार ग्रहण गरेका जो बाइडेन र यसअघिका म्यानह्याटनका जिल्ला सरकारी वकिलले उनीविरूद्ध मुद्दा चलाएका थिएनन्।

तर ब्र्यागले ट्रम्पलाई यो विषयमा मुद्दा चलाउँछु भन्ने चुनावी मुद्दा बनाएरै सन् २०२२ मा म्यानह्याटनका जिल्ला सरकारी वकिल निर्वाचित भएका थिए।

२०२३ मार्च अन्तमा उनले यो मुद्दा चलाउँदा कतिले यसलाई सन् १९२० को दशकका सिकागो सहरका खतरनाक डन अल कपोनविरूद्ध लगाइएको करछली मुद्दासँग तुलना गरेका थिए। अल कपोनले कैयौंको हत्या गरेका, गराएका र अरू धेरै जघन्य अपराध गरेका थिए। तर ती अपराधमा भन्दा करछलीको अभियोग प्रमाणित गर्न सजिलो हुन्छ भनेर सरकारी वकिलले करछलीको मुद्दा लगाएर उनलाई जेलमा हालेका थिए।

ट्रम्पविरूद्ध दुई राज्यका र दुई संघीय जिल्ला अदालतमा मात्रै ९१ वटा अभियोगमा फौजदारी मुद्दा चल्दै छन्। त्यसमध्ये सन् २०२० मा आफूले हारेको राष्ट्रपति निर्वाचनको परिणाम उल्टाउन खोजेको, राष्ट्रपति हुँदा ह्वाइट हाउसबाट गोप्य कागजातहरू लगेको जस्ता धेरै संघीन प्रकृतिका मुद्दा छन्।

अरू धेरै अदालतमा देवानीका साथै आर्थिक, कर लगायतका मुद्दा पनि चलिरहेका छन्।

तर २०२३ मार्च अन्तमा पोर्नस्टारसँगको सम्बन्ध लुकाउन उनलाई पैसा दिएको सम्बन्धी यो मुद्दा दर्ता हुनुअघि अरू कुनै मुद्दा दर्ता भएका थिएनन्।

डेमोक्र्याटिक पार्टीको गढ न्यूयोर्क राज्यको म्यानह्याटनमा सोही दलबाट जिल्ला सरकारी वकिल निर्वाचित भएका ब्र्यागले यो मुद्दा चलाएपछि कतिपय स्वतन्त्रहरूलाई समेत यो मुद्दा राजनीतिक प्रतिशोधका लागि लगाइएको भन्ने लागेको थियो।

२०२१ जनवरीमा ह्वाइट हाउसबाट बाहिरिएपछि ओझेलमा परेका ट्रम्पले २०२२ नोभेम्बरमा फेरि राष्ट्रपतिको चुनाव लड्ने घोषणा गरे पनि उनको माहोल खासै बनेको थिएन। यो मुद्दा दर्ता हुनेबित्तिकै उनी अचानक फेरि चर्चामा आए र उनका समर्थक मात्रै नभएर उनको विरोधी रिपब्लिकन नेताले समेत उनको बचाउ गर्दै यो मुद्दाको विरोध गरे।

उनी रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवार हुने लगभग त्यतिबेलै निश्चित भयो।

यसरी यो मुद्दा दर्ता हुनेबित्तिकै नै उनलाई फाइदा भएको थियो र यसको सजायबापत् जेल नै गए पनि उनको मत नघट्ने धेरै विश्लेषक दाबी गर्छन्।

बिहीबारको फैसलापछि तुरून्तै ट्रम्पले आफूमाथि प्रतिशोध साँधिएको प्रतिक्रिया दिएका छन् र असली फैसला नोभेम्बर ५ मा जनताले दिने बताएका छन्।

चुनाव हुन अझै ५ महिना बाँकी छ। त्यतिञ्जेलमा नयाँ चुनावी मुद्दा आएर नतिजा प्रभावित पार्न सक्ने सम्भावना रहन्छ। तर पछिल्ला मत सर्वेक्षणमा कतिपय प्रतिस्पर्धात्मक साना राज्यमा ट्रम्प अलिकति अघि छन् र आजका दिनमा चुनाव हुने हो भने निर्वाचित हुन सक्ने देखिएको छ।

यो मुद्दा प्रतिशोध साँध्न मात्रै लगाइएको र ट्रम्पका समर्थकलाई यसको फैसलाले केही फरक नपर्ने भए पनि केही स्वतन्त्र मान्छेलाई भने प्रभाव पार्न सक्नेछ। यो मुद्दाका सुनुवाइ क्रममा राष्ट्रपति हुनुअघि ट्रम्पको दुनियाँ कति लाजलाग्दो थियो र उनको बानीबेहोरा कस्तो थियो भनेर विस्तृत रूपमा सार्वजनिक भएको छ।

८१ वर्षीय बाइडेनभन्दा चार वर्ष कान्छा भए पनि उनलाई ‘बुढा र होस फुस्केको’ भनेर गाली गर्ने ट्रम्प स्वयं पनि यो मुद्दाको क्रममा कमजोर रहेको सावित भएको छ। कैयौं दिनसम्म चलेको बहसका क्रममा प्रायः जसो ट्रम्प निदाएका थिए। त्यसैले बाइडेनभन्दा ‘ऊर्जाशील’ ट्रम्पलाई भोट हाल्छु भनेर बसेकाको मन बदलिन सक्छ।

गम्भीर अपराधमा अदालतद्वारा दोषी ठहरिएका ट्रम्पजस्तो ‘खराब’ मान्छेलाई विवेकी र स्वतन्त्र मान्छेले भोट दिँदैनन् भन्ने पनि बाइडेन क्याम्पको आशा छ।

अमेरिकामा अरू देशमा जस्तो लोकप्रिय मतका आधारमा राष्ट्रपतीय निर्वाचन हुने भए बाइडेनले जित्ने लगभग निश्चित छ।

तर अमेरिकाको राष्ट्रपतीय निर्वाचन इलेक्टोरल कलेजका आधारमा  हुने भएकाले प्रतिस्पर्धा हुने केही साना राज्यमा ट्रम्पले झिनो मतान्तरले जिते भने बाइडेनलाई हराउनेछन्। अहिलेसम्मका मत सर्वेक्षणले त्यस्तै देखाउँछन्।

तर ती राज्यमा अहिलेसम्म ट्रम्पलाई मत हाल्छु भनेर बस्ने थोरै मात्रै विवेकी र स्वतन्त्र मान्छेले गम्भीर अपराधमा दोषी ठहरिएकालाई भोट हाल्दिनँ भनेर उनलाई मत हालेनन् वा झन् बाइडेनलाई नै मत हाले भने चाहिँ ती राज्यहरू बाइडेनले जितेर उनी फेरि राष्ट्रपति निर्वाचित हुनेछन्।

(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्