यो बजेट अर्थमन्त्रीको, अर्थमन्त्रीको पार्टीको जस्तो छः केपी ओली

समाचार बिज
  • ख-
  • ख+

सत्तारूढ प्रमुख घटक नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

ओलीले सत्तारूढ दलहरूसँग परामर्श नगरी बजेट ल्याइएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।

अर्थमन्त्री वर्षमान पुनले नेकपा माओवादी केन्द्रप्रति ढल्किएको बजेट ल्याएको टिप्पणी पनि उनले गरे।

‘एकदमै सामान्य हिसाबले भन्ने हो भने, दफाबार हिसाबले नजाँदा पनि, यो बजेट सरकारमा सहभागी दलहरूसँग परामर्श गरेर, छलफल गरेर आएको भए धेरै राम्रो हुन सक्थ्यो। छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि, अर्थमन्त्री भएको पार्टीको बजेट हो कि जस्तो अलि बढ्ता देखिन गएको छ। रकम बाँडफाँट पनि त्यस्तै गरेर अलि बढी एकातिर ढल्किएको खालको जस्तो देखिन्छ,’ उनले भने।

बजेट समाजवाद उन्मुख हुनुपर्नेमा अन्योलग्रस्त देखिएको भन्दै उनले सरकारले बजेट निर्माण प्रक्रियामै कमीकमजोरी गरेको पनि बताए। बजेटमा कमीकमोरी औंल्याए पनि सो बजेटलाई समर्थन र पारित गरेर जाने एमालेको नीति रहेको पनि उनले स्पष्ट पारे।

ओलीले आफ्ना सांसदहरूलाई उनीहरूका क्षेत्रमा सञ्चालन भइरहेका आयोजनाहरूमा बजेट कटौती भएको छ भने प्रश्न गर्न निर्देशन पनि दिए। आइतबारदेखि संसदमा सुरू हुने बजेटमाथिको छलफलमा सहभागी भई त्‍यसका बजेटमा केही कमजोरी छन् भने औंल्याउन उनले भनेका हुन्।

‘आफ्नो जिल्ला, क्षेत्र र प्रदेशमा हिजो के कमजोरी थियो, सुधार भयो कि भएन वा अझै घटोत्तरी भए कि, यस्ता विषयमा स्वाभाविक रूपमा प्रश्न उठाउन सक्नुहुन्छ,’ ओलीले भने।

तर त्यसको औचित्य पनि खोज्न आवश्यक हुने ओलीले बताए।

‘कुनै नयाँ आयोजनाका लागि विशेष काम गर्दैछौं कि, नयाँ, ठूला र राष्ट्रका लागि अत्यन्त महत्वको आयोजना जसले एउटा रूपान्तरणकारी काम गर्छ। त्यस्ता आयोजना सुरू गर्दैछौं र त्यसमा असाधारण ढंगले ठूलो बजेट छुट्ट्याउन परेकाले कतिपय बजेटको आकार घटाएर वा कतिपय ठाउँको बजेट घटाएर त्यसलाई अन्त सार्नुपर्‍यो भनिएका छन् कि, त्यो पनि हेर्नुपर्छ,’ उनले  भने।

ती केही नहुँदा पनि बजेट घटाइएको छ भने कमीकमजोरी औंल्याउनुपर्ने अध्यक्ष ओलीले बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्