६ ट्राभल र ५ कार्गो कम्पनीलाई क्याथे प्यासिफिकको सम्मान

समाचार बिज
  • ख-
  • ख+

११ जेठ, काठमाडौं । हङकङस्थित अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी क्याथे प्यासिफिक एयरवेजले सन् २०२३ मा नेपालको आफ्नो व्यापारमा उल्लेख्य सघाउ पुर्‍याउने ट्राभल तथा कार्गो कम्पनीलाई सम्मान गरेको छ ।

क्याथेले बिहीबार कार्यक्रम गरी ६ वटा ट्राभल कम्पनी र पाँच कार्गो कम्पनीलाई सम्मान गरेको हो । ती कम्पनीले २०२३ मा क्याथेको सबैभन्दा धेरै टिकट बिक्री गरेका थिए । क्याथेले ओशो वर्ल्ड ट्राभल नेपाल, सुमेघ टुर्स एन्ड ट्राभल्स, बोन ट्राभल एन्ड टुर्स, रुपाकोट इन्टरनेसनल ट्राभल र प्रबास ट्राभल एन्ड टुर्सलाई सम्मान गरेको हो ।

त्यसैगरी भारत हुँदै उत्कृष्ट आम्दानी गराउन सफल सेभेन स्टार इन्टरनेसनल ट्राभल एन्ड टुर्सलाई पनि सम्मान गरिएको थियो । त्यसैगरी कार्गोतर्फ पायोनियर कार्गो, हिमालयन ट्राभल एन्ड टुर्स, सांग्रिला इन्टरनेसनल फ्रेट, लिजेन्ड कार्गो र मुक्तिनाथ डे कार्गो सम्मानित भए ।

क्याथेको दक्षिण एसिया, मुध्यपूर्व र अफ्रिका हेर्ने क्षेत्रीय महाप्रबन्धक राकेश राइकर, कस्टमर ट्राभलका क्षेत्रीय प्रमुख आनन्द येडेरी, कार्गोका क्षेत्रीय प्रमुख राजेश मेनन, नेपाल प्रमुख जुनु मलेकु र क्याथेको नेपालस्थित जनरल सेल्स एजेन्ट (जीएसए) अमरावती ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत जुगेश श्रेष्ठले सम्बद्ध कम्पनीका सञ्चालक तथा प्रतिनिधिलाई अवार्ड र प्रमाणपत्र प्रदान गरेका थिए ।

‘नेपालमा हाम्रो व्यापार विस्तारमा उल्लेख्य सहयोग गर्ने कम्पनीलाई सम्मान गर्न पाउँदा खुसी लागेको छ,’ क्याथेका क्षेत्रीय महाप्रबन्धक राइकरले भने, ‘यात्रु तथा कार्गो सेवा अझै उत्कृष्ट बनाउँदै लाने योजनामा तपाईंहरूको महत्त्वपूर्ण भूमिका हुन्छ ।’

त्यसैगरी क्याथेका नेपाल प्रमुख मलेकुले ट्राभल तथा कार्गो साझेदार कम्पनी आफूहरूका लागि सदैव महत्त्वपूर्ण रहेको बताइन् । ‘हामी यात्रु र कार्गोलाई उत्कृष्ट सेवासहित गन्तव्य पु¥याउन सधैं मिहिनेत गरिरहेका छौं । यसमा हाम्रा साझेदार कम्पनीको सहयोग विशेष हुने गर्छ ।’

७७ वर्षअघि स्थापना भएको क्याथे प्यासिफिक एयरवेजले हाल नेपालका लागि सातामा पाँच उडान गर्दै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्