वीरगञ्ज महानगरको राजस्व लक्ष्य अनुसार उठेन, संघीय सरकारले दिने अनुदान पनि घटेपछि योजना कटौती

समाचार बिज
  • ख-
  • ख+

वीरगञ्ज । लक्ष्यअनुसार राजस्व उठ्न नसकेपछि वीरगञ्ज महानगरको दैनिक कार्य सञ्चालनको खर्चदेखि योजनाको भुक्तानी  प्रभावित भएको छ ।

वीरगञ्ज महानगरले चालू आर्थिक वर्ष (आव) २०८०/८१ को प्रथम १० महीनामा करीब ४० करोड रुपैयाँ राजस्व उठाएको छ । वैशाख मसान्तसम्म ३९ करोड ८० लाख ३४ हजार ११९ रुपैयाँ राजस्व संकलन भएको महानगरको राजस्व महाशाखा प्रमुख मनोज कर्णले जानकारी दिए । महानगरले चालू आवका लागि ७५ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको थियो । हालसम्मको राजस्व संकलनको अवस्था हेर्दा यो वर्ष लक्ष्य अनुसार राजस्व नउठ्ने  देखिएको छ ।

राजस्वको लक्ष्य भेटाउन महानगरले अब ३५ करोड रुपैयाँ उठाउनु पर्दछ । १० महीनामा ४० करोड संकलन गरेको महानगरले अबका २ महीनामा यो लक्ष्य पूरा गर्न असम्भव रहेको राजस्व महाशाखाका कर्मचारी बताउँछन् ।

महानगरले अहिलेसम्म उठाएको राजस्वमध्ये सबैभन्दा बढी आय सम्पत्ति करबाट गरेको छ । यो शीर्षकमा १३ करोड ९३ लाख उठेको छ । महानगरले भूमि तथा मालपोत कर, घरबहाल, बिटौरी कर, सवारी व्यवस्थापन, पूर्वाधार सेवाको उपयोगलगयतका कर उठाएको छ । विज्ञापन कर, मनोरञ्जन, व्यवसाय दर्र्ता, नक्सापासलगायतका कर महानगरका आम्दानीका स्रोत हुन् ।

सँगसँगै संघीय सरकारले दिने समानुपातिक अनुदान पनि घटेपछि महानगरले चालू आवका ३० प्रतिशत योजना कटौती गरेको छ । गत पुसको नगरसभाबाट योजना कटौती गरेको थियो । वडाबाट सञ्चालन हुने नगरस्तरीय ३० प्रतिशत योजना हटाइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले आर्थिक अभियानलाई बताएका थिए ।

महानगरले चालू आवका लागि ३ अर्ब २१ करोड रुपैयाँको बजेट बनाएको थियो । त्यसमा गत आव २०७९/८० बाट ३० करोड रुपैयाँ बचत भएर आउने अनुमान गरिएको थियो ।

सशर्त योजना समयमा पूरा हुन नसकेपछि बजेट फिर्ता जानु र भुक्तानीको दायिवले यो वर्षको बजेटबाटै २ करोड रुपैयाँ भुक्तानीको दायिव थपिएको महानगरले बताएको छ ।

अघिल्लो वर्षको दायिव, मालपोतमा कमी, संघ र प्रदेश सरकारको समानीकरण रकम कटौतीका कारण चालू वर्षमा स्रोतमा दबाब बढेको महानगरका अधिकारीहरू बताउँछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्