बैंगलुरुको कम्ब्याक : लगातार ६ खेल जित्दै प्लेअफमा, साबिक विजेता चेन्नई बाहिरियो

समाचार बिज
  • ख-
  • ख+

बैंगलुरु । रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल) मा उत्कृष्ट पुनरागमन गर्दै प्लेअफमा आफ्नो स्थान बनाउन सफल भएको छ । शनिबार राति भएको खेलमा बैंगलुरुले चेन्नईलाई २७ रनले हराउँदै शीर्ष चारमा स्थान पक्का गरेको हो ।

चेन्नईलाई प्लेअफमा पुग्नका लागि बैंगलुरुसँग १८ रनभन्दा कम अन्तरको हार टारे मात्र पुग्ने थियो । तर, २ सय १९ रनको लक्ष्य पछ्याएको टोलीले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ९१ रन मात्र बनाउन सक्यो । योसँगै साबिक विजेता टोली नेट रन रेटको आधारमा पछि पर्‍यो ।

टोलीका लागि रचिन रवीन्द्रले सर्वाधिक ६१ रन बनाए । उनले ३७ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै, रवीन्द्र जडेजाले २२ बलमा ४२ रन जोडे । अजिंक्या रहानेले २२ बलमा ३३ रन तथा महेन्द्र सिंह धोनीले १३ बलमा २५ रन जोडे पनि टोलीलाई प्लेअफसम्म पुर्‍याउन सकेनन् ।

बैंगलुरुका लागि यश दयालले २ विकेट लिए भने ग्लेन म्याक्सवेल, मोहम्मद सिराज, लोकी फर्गुसन र क्यामरुन ग्रिनले १–१ विकेट हात पारे ।

यसअघि पहिले ब्याटिङ गरेको बैंगलुरुले कप्तान फाफ डु प्लेसिसको अर्धशतकको मद्दतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय १८ रन बनाएको थियो ।

डुप्लेसिसले ३९ बलमा ५४ रन बनाउने क्रममा ३ चौका र ३ छक्का प्रहार गरे । विराट कोहलीले २९ बलमा ४७ रन बनाएर टोलीलाई उत्कृष्ट सुरुवात दिलाए ।

त्यस्तै, रजत पटिदारले २३ बलमा ४१ रन बनाउँदा क्यामरुन ग्रिनले १७ बलमा ३८ रनको विस्फोटक इनिङ्स खेले । चेन्नईका लागि शर्दुल ठाकुले २ तथा तुसार देशपाण्डे र मिचेल स्यान्टरले १–१ विकेट लिए ।

१४ खेलपछि बैंगलुरु र चेन्नईको समान १४ अङ्क भए पनि बैंगलुरुको नेट रन रेट ०.४५९ पुगेको छ भने चेन्नईको नेट रनरेट ०.३९२ मा सीमित बन्यो । बैंगलुरुसँगै कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स र सनराइजर्स हैदराबादसँग प्लेअफमा पुगिसकेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्