मलेसियाका गृहमन्त्रीलाई रविको आग्रह – ​जीबी राईलाई पक्राउ गरेर सहयोग गरिदिनुस्

समाचार बिज
  • ख-
  • ख+

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र मलेसियाका गृहमन्त्री सैफुद्धिन नसुत्तिन इस्माइलबिच फोनवार्ता भएको छ ।

गत मंगलवार दुई जनाबीच फोनमा कुराकानी भएको मलेसियाका गृहमन्त्री इस्माइलले सामाजिक सञ्जाल फेसबूकमार्फत जानकारी गराएका छन् ।

फोनमा लामिछानेले मलेसियामा लुकेर बसेका गितेन्द्रबावु (जीबी) राईलाई पक्राउ गरेर सहयोग गरिदिन आग्रह गरेका छन् ।

लामिछानेको सचिवालयमा कार्यरत एक सहयोगीले भने, ‘गृहमन्त्रीज्यूले जीबी राईको बारेमा पनि पक्राउ गरि सहयोग गरिदिन आग्रह गर्नुभएको हो । जवाफमा इस्लामले सकारात्मक प्रतिक्रिया दिनुभएको हो ।’ ​

सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईविरुद्ध रेड नोटिस जारी भइसकेको छ ।

फोन वार्तामा देशको सिमानाको सुरक्षा र सार्वजनिक व्यवस्थाको विषय छलफलको मुख्य विषय भएको मलेसियाका गृहमन्त्री इस्माइलले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘हामी आप्रवासी कामदारहरूका साथै सीमापार अपराध रोकथाम लगायतका अन्य धेरै विषयमा सहयोग अभिवृद्धि गर्न प्रतिबद्ध छौं ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्