पोखराका युवा उद्यमीले चीनको ग्वाङझाउ भ्रमण गर्ने

समाचार बिज
  • ख-
  • ख+

पोखरा
नेपाली युवा उद्यमी मञ्च पोखरासँग आवद्ध पोखरेलीले पोखरा महानगरपालिकाको भगिनी सहर ग्वाङझाउको औद्योगिक भ्रमण गर्ने भएका छन् । २ देशबीचको सम्बन्धलाई सुदृढ बनाउने, व्यापारका अवसरहरू खोज्ने र २ देशबीचको सांस्कृतिक आदानप्रदानलाई अभिवृद्धि गर्ने भ्रमणको उद्देश्य छ ।

फागुन २० गतेदेखि २६ गतेसम्मका लागि तय गरिएको भ्रमणले पोखरा र ग्वाङझाउबीचको समग्रमा नेपाल र चीनको सहकार्य र आपसी वृद्धिलाई प्रवद्र्धन गर्ने दिशामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मञ्चले जनाएको छ ।

पोखरा उद्योग वाणिज्य संघका पदाधिकारीसहितले युवा उद्यमीको भ्रमण टोलीलाई बिहीबार बिदाई गरे । मञ्चको ग्वाङझाउ भ्रमणको मुख्य उद्देश्य नेपाल र चीनबीचको आर्थिक सम्बन्धलाई मजबुत बनाउनु र व्यापार तथा लगानीका अवसरहरूलाई प्रवद्र्धन गर्नु रहेको मञ्चका अध्यक्ष निरन केसीले जनाए ।

‘सरकारी अधिकारीहरू, व्यापारिक नेताहरू, र उद्यमीहरू लगायत प्रमुख सरोकारवालाहरूसँग संलग्न भएर, नेपाली युवा उद्यमी मञ्च पोखराले दुवै देशको अर्थतन्त्रलाई फाइदा हुने संवाद र सहयोगलाई सहज बनाउने लक्ष्य राखेको छ,’ उनले भने ।

भ्रमणले चिनियाँ लगानीकर्ताहरूलाई पोखराको लगानी क्षमता र पर्यटन, कृषि, नवीकरणीय ऊर्जा र प्रविधि जस्ता प्रमुख क्षेत्रहरूमा सहकार्यलाई प्रोत्साहन गर्ने मञ्चले विश्वास राखेको छ । पोउवा संघका अध्यक्ष पवनकुमार प्रजापतिले यस भ्रमणले भगिनी सहर ग्वाङझाउ र पोखरा महानगरपालिकाको सम्बन्ध अझ धेरै प्रगाढ हुने विश्वास व्यक्त गरे । पोखराको पर्यटन सुस्ताएको अवस्थामा टेवा पुग्ने उनले बताए ।

पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठ तथा होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुबेदिले पनि ले पनि यस भ्रमण फलदायी रहेन आसा राख्दै नेपाली युवा उधमी मञ्च पोखराको चीन भ्रमणलाई सफलताको शुभकामना व्यक्त गरे ।

नेपाली युवा उद्यमी मञ्च पोखराका अध्यक्ष निरन केसीले मञ्चको पहिलोपटक संस्थागत औपचारिक वैदेशिक भ्रमण आयोजना गरिएको बताए । भ्रमण अन्तर्गत मञ्चको भ्रमण टोलीले द्विपक्षीय सहयोग र लगानीका अवसरहरूबारे छलफल गर्न ग्वाङ्झाउका सरकारी अधिकारीहरू र सम्बन्धित मन्त्रालयहरूसँग भेट गर्नेछ ।

मञ्चका अध्यक्ष केसीले भ्रमण टोलीमा यस मञ्चका पूर्वअध्यक्ष तथा नेपाल चाइना उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका वर्तमान अध्यक्ष वैभव पौडेल र यसै मञ्चका पूर्वअध्यक्ष तथा नेपाल हवाई खेलकुद संस्थाका वर्तमान अध्यक्ष सुनीलबहादुर भट्टराई पनि सामेल रहने र ग्वाङ्झाउका सरकारी अधिकारीहरू र सम्बन्धित मन्त्रालयहरूसँग भेटघाट तथा अन्तर्क्रियात्मक कार्यक्रममा वैभव पौडेलसँग होटल तथा पर्यटन व्यवसाय प्रवर्द्धनका विषयमा छलफल गर्न औपचारिक कार्यक्रम तय भएको र हवाई खेलकुदको माध्यमबाट पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्ने अर्को औपचारिक कार्यक्रम सुनीलबहादुर भट्टराईसँग पनि तय गरिएको जानकारी दिए । मञ्चका अध्यक्ष निरन केसीले कार्यक्रमका सहभागीलाई धन्यवाद ज्ञापन गरे ।

मञ्चका अनुसार भ्रमणबाट नेपाली र चिनियाँ व्यवसायहरू बीचको नेटवर्किङ अवसरहरू, आर्थिक वृद्धि र रोजगारीका अवसरहरू सिर्जना गर्न सक्ने साझेदारी र संयुक्त उद्यमहरूलाई प्रवद्र्धनको अवसर पहिचान गर्ने हुनेछ ।

आर्थिक उद्देश्यका अतिरिक्त, भ्रमणले पोखरा र ग्वाङझाउबीचको सांस्कृतिक आदानप्रदानलाई प्रवद्र्धन गर्दै २ राष्ट्रका सहरबीच आपसी समझदारी र मित्रतालाई बढावा दिनेछ । पोखरा तथा गण्डकी प्रदेशको सम्भाव्यता देखाउन र चिनियाँ उद्यमीहरू र लगानीकर्ताहरूसँग सम्पर्क स्थापित गर्न गण्डकी प्रदेश मुस्ताङ जिल्लासँग जोडिएको नेपाल चिनको सिमाना कोरला बोर्डरको २ तर्फी व्यापार करिडोर स्थापना गरी निकासी तथा आयातमा सहजता ल्याउने उद्देश्यले औचारिक प्रस्ताव गर्न सरकारी अधिकारीहरूबिच गरिने सेमिनार र नेटवर्किङ कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउनेछ ।

भ्रमण टोलीले औद्योगिक क्षेत्र, नवप्रवर्तन केन्द्रहरू र विभिन्न कम्पनीहरूको साझेदारी र लगानीका अवसरहरूको खोजी गर्नेछ ।

चिनियाँ पर्यटकलाई आकर्षित गर्ने र सम्भावित पर्यटकीय राजधानी पोखरामा पर्यटन प्रवर्द्धन गर्नुका साथै दुई देशबीच सांस्कृतिक समझदारी र नेपाली पर्यटन संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले अन्तरक्रियात्मक कार्यक्रम तथा चिनिया प्रदर्शनी अवलोकन गर्ने कार्यक्रम तय भएको मञ्चका अध्यक्ष निरन केसीले बताए ।

source samadhannews.com

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्