ख्रीष्टियन महासंघमा लफडा, विशेष महाधिवेशन घोषणा

समाचार बिज
  • ख-
  • ख+

काठमाडौँ । लामो समयदेखि आन्तरिक विवादको दलदलमा फसेको राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले समस्या समाधान गर्न विशेष महाधिवेशन घोषणा गरेको छ । आइतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी पूर्वअध्यक्ष सिबी गहतराजले संस्थालाई बन्धक बनाएको भन्दै ६० दिनभित्र विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेर निकास दिन लागिएकोसमेत जनाएको हो ।

महासंघका कार्यवाहक अध्यक्ष उद्धव प्रसाद चिमौरियाले सिबी गहतराजसँग आफ्नो १५ वर्षदेखिको लामो सहकार्यलाई स्मरण गर्दै, गहतराज हरेक निर्णयहरू आफू केन्द्रित र निजी स्वार्थपूर्तिको लागि गर्दै आएको बताए । पछिल्लो समयमा गहतराजका गलत क्रियाकलापको कारण संस्था धराशायी भएको जनाउँदै भने,“उहाँको एकलौटी र आफू अनुकूल हुनुपर्ने हठले आफू त सडकमा पुग्नु भयो नै, संस्थालाई पनि कोमामा पुर्‍याउनु भयो, उहाँले संस्थालाई मार्न चाहे पनि हामी राम्रो औषधी र डाक्टरहरुद्वारा उपचार गरेर चलाउँछौँ ।”

सह–अध्यक्ष तुलसी प्रसाद श्रेष्ठले समस्या समाधानको लागि जिल्ला प्रशासनसम्म पुगेको र त्यहाँ पनि हल नभएको बताउँदै भने,“सिडिओ साबको रोहबरमा कयौँ पल्ट विभिन्न विकल्प दिँदा पनि सिबी जी मिलेर अधिवेशनमा जान तयार हुनुभएन । ‘जुनसुकै निर्णय गरे पनि आफ्नो नेतृत्वमा महासंघ नहुने भए संस्था नै बन्द गर्ने भनेपछि, यो अन्तिम विकल्पमा आउन बाध्य भयौँ ।’

राष्ट्रिय मानव अधिकार सरोकार केन्द्रका केन्द्रीय अध्यक्ष डा.जित घलेले आम ख्रीष्टियनहरुको आस्थाको धरोहर महासंघलाई समस्याको दलदलमा फसाएको भन्दै नेतृत्वप्रति रोष व्यक्त गरे । पूर्वअध्यक्ष गहतराजले ३ कार्यकाल एकलौटी चलाएको र संस्थालाई नाजुक अवस्थामा पुर्‍याएको भन्दै निकासको लागि मार्ग प्रशस्त गर्नुपर्नेसमेत उनले सुझाए ।

Christine  Press relese

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्