सोनापुर मिनरल्स् एन्ड आयलको साधारणसभा सम्पन्न, दुई सञ्चालक निर्वाचित

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं। सोनापुर मिनरल्स् एन्ड आयल लिमिटेडको १६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। दाङको घोराहीमा सम्पन्न साधारणसभाले लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, सोही मितिमा समाप्त भएको आव २०७९/८० को नाफा, नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरणलगायत वित्तीय विवरण पारित गरेको छ।

साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि स्वीकृत गरेको कम्पनीले जनाएको छ। यस्तै, साधारणसभाले सर्वसाधारण सेयरधनी समुहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ सञ्चालक क्रमशः अंकित खड्का र रचनाकुमारी ओझालाई निर्विरोध निर्वाचित गरेको छ।

कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनी यो त्रैमाससम्म १४ करोड ७८ लाख रुपैयाँ नोक्सानी छ। गत वर्ष भने कम्पनीले २ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको थियो।

पुससम्म कम्पनी १ करोड १४ लाख रुपैयाँ सञ्चालन घाटामा रहेको छ। गत वर्ष यसले २५ करोड ७३ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो। यस्तै, कम्पनीको आम्दानी १ अर्ब ७३ करोड रुपैयाँबाट घटेर ७० करोड ५६ लाख रुपैयाँमा झरेको छ, यो गत वर्षभन्दा ५९.२१ प्रतिशत कम हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्