पोखरा । तेइसौँ संस्करणको आहा रारा पोखरा गोल्डकपको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र थ्रीस्टार क्लब पोखरा रङ्गशालामा आमनेसामने हुँदैछन् ।
त्रिभुवन आर्मी क्लबले हालसम्म चार पटक प्रतियोगिताको फाइनल पुगेर पनि उपाधि विमुख छ । प्रतियोगितामा पाँचौँ पटक उपाधि नजिक पुगको आर्मी शनिबार पोखराको मैदानमा ओर्लिदा उसको मुख्य लक्ष्य च्याम्पियन बनेर इतिहास रच्ने हुनेछ ।
थ्रीस्टार क्बल भने पोखराको मैदानमा भाग्यमानी टोलीमा पर्दछ । मनाङ मर्स्याङदी क्लबपछि आहा राराको सर्वाधिक धेरै उपाधि जित्ने टोली हो थ्रीस्टार । थ्रीस्टारले हालसम्म पाँच पटक उपाधि जितिसकेको छ भने शनिबार छैटौँ उपाधिको खोजीमा हुनेछ र इतिहास रच्नेछ ।
थ्रीस्टार यसअर्थमा पनि भाग्यमानी छ भने उसले फाइनलमा पुगेर एक पटक मात्र उपाधि जित्न सकेको छैन । अन्य सबैमा सफलता पाएको छ । आर्मी यसअघि विसं २०६५, विसं २०६६, विसं २०७२ र विसं २०७५ मा प्रतियोगिताको फाइनल पुगेको थियो । चारैपटक उसले उपाधि जित्न सकेन । पछिल्लो पटक आर्मी र थ्रीस्टार विसं २०७५ मा फाइनलमा भिडेका थिए ।
तत्कालीन समयमा टाइब्रेकरमा थ्रीस्टार च्याम्पियन बनेको थियो । उपाधि भिडन्तमा पाँच वर्षपछि थ्रीस्टारसँग बदला लिने मौका आर्मीलाई छ । थ्रीस्टारले विसं २०६३, विसं २०६७, विसं २०६९, विसं २०७१ र विसं २०७५ मा प्रतियोगिताको उपाधि चुमेको छ ।
प्रतियोगितामा हालसम्म सात पटक फाइनल पुगेको थ्रीस्टार विसं २०७४ को १६औँ संस्करणमा नेपाल पुलिस क्लबसँग पराजित भएको थियो । पोखरामा आफ्नो गौरवपूर्ण विरासतलाई निरन्तरता दिन चाहन्छ थ्रीस्टार । प्रतियोगितामा छैटौँ पटक उपाधि जित्दै सर्वाधिक सफल क्लबको पहिचान स्थापित गर्ने खोजीमा थ्रीस्टार हुनेछ ।
आर्मीका प्रशिक्षक मेघराज केसीले विगतको इतिहासलाई विर्सदै नयाँ इतिहास रच्ने टोलीको सपना रहेको बताए । पोखराको मैदानमा उपाधि जितेर आर्मीका समर्थकलाई खुसी दिने आफ्नो योजना रहेको उनले सुनाए । “हामी इतिहास दोहोर्याउँदैनौँ, नयाँ इतिहास रचेर समर्थकलाई खुसी दिनेछौँ ।”
थ्रीस्टार क्लबका प्रशिक्षक विक्रम लामाले सेमिफाइनलका कमीकमजोरी सुधार गर्दै उपाधि जित्ने गरी फाइनल खेलमा उत्रिने बताए । प्रशिक्षक लामाले भने,“आर्मीको टोली संगठित छ, फाइनल खेल पक्कै गाह्रो हुनेछ तर हामी उपाधि चुम्ने गरी खेल्नेछौँ ।” लामा आफू खेलाडी हुँदा जितेको उपाधिलाई प्रशिक्षक हुँदा निरन्तरता दिने उल्लेख गरे ।
प्रतियोगितामा आर्मीले प्रिक्वाटरफाइनलमा राइजिङ स्टार फुटबल क्लब, क्वाटरफाइनलमा संकटा र सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई हराएर फाइनल पुगेको हो ।
थ्रीस्टारले भने उद्घाटन खेलमा आयोजक सहारा, क्वाटरफाइनलमा भुटानको पारो फुटबल क्लब र सेमिफाइनलमा जावलाखेल युथ क्लबमाथि जित निकाल्दै फाइनल पुगेको हो ।
प्रतियोगिताको च्याम्पियन टोलीले रु १२ लाख एक हजार, उपविजेता टोलीले रु छ लाख एक हजार नगद सहित ट्रफी प्रदान गरिने क्लबका अध्यक्ष केशवराज बरालले बताए।
यसैगरी विभिन्न पाँच विधामा उत्कृष्ट खेलाडीलाई जनही रु २५ हजारका दरले पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर पाउनेछन् । प्रतियोगितामा एक विदेशी सहित १२ टोलीले प्रतिस्पर्धा गरेका थिए ।