संस्कृति सङ्गै व्यवसायिक प्रवर्द्धनमा हाम्रो चाँसो: अध्यक्ष प्रजापती

समाचार बिज
  • ख-
  • ख+

पोखरा पर्यटकीय शहर । जहाँ थुप्रै सम्भावना छन् । बेलाबेलामा हुने मेला महोत्सवले पोखराको रौनकतालाई झल्काएको छ । कोभिडका कारण लामो समय हुन नसकेको राष्ट्रिय औद्योगिक व्यापार मेला यसपाली आयोजना गरिदैछ । व्यवसायिक घरानाको पुरानो संस्था पोखरा उद्योग बाणिज्य संघको आयोजनामा हुने मेलालाई सफल पार्न सम्पूर्ण तयारी समेत पुरा भएको जानकारी आयोजक कमिटीले दिएको छ। मंसिर १६ देखि २५ गतेसम्म चल्ने मेलाका विषयलाई लिएर संघका अध्यक्ष पवनकुमार प्रजापतीसँग हाम्रा सहकर्मी सन्तोष बस्यालले  गरेको कुराकानीको सम्पादित अंश:

.राष्ट्रिय औद्योगिक व्यापार मेलामा यसपाली नयाँपन के छ ?

यो पालाको राष्ट्रिय औद्योगिक व्यापार मेलामा नयाँपन भनेकै व्यवसायिक प्रवद्र्धन हो । कोभिड पश्चात पोखराको व्यवसायिक क्षेत्रमा परेको समस्यालाई समाधान गर्ने हेतुले मेलाको आयोजना गरिएको हो । व्यवसायमा लागेका र व्यवसायमा लाग्न चाहने दुवै समूहलाई फाइदा पुग्ने विश्वास छ । विगतमा भए गरेका राष्ट्रिय औद्योगिक व्यापार मेलामा भन्दा केही फरक चाहिँ अवश्य पाउनुहुनेछ ।

.मेलाको प्रवद्र्धनका लागि कस्तो व्यवस्थापन गर्नुभएको छ ?

कृषि, औद्योगिक, अटो लगायतका व्यवसायिक प्रवद्र्धनलाई विशेष चासोका साथ प्रस्तुत गरिएको छ । पोखरा र आसपासका जिल्लामा उत्पादन भएका वस्तुहरुको प्रवोधिकरण गर्ने उद्देश्य स्वरुप मेलाको आयोजना गरिएको हो । युवाहरुलाई व्यवसायिक स्किल दिन पनि मेला मार्फत सहयोग पुगेको छ । मेला भित्र नै व्यवसायिक तालिमको व्यवस्थापन गरिएको छ । बिना लगानी सिक्ने अवसर पाउनुहुनेछ ।

.यसपाली पहिले जस्तो सांस्कृतिक कार्यक्रम नहुने भनिएको छ, खास के हो ?

कोभिडले व्यवसाय क्षेत्र धरासाही बन्यो । हामी सबैभन्दा बढी उद्योगी र व्यवसायी मित्रहरुको व्यवसाय प्रवद्र्धन प्रति चिन्तित छौं । सांस्कृतिक कार्यक्रम हुँदै नहुने होइन । दिउँसोको समयमा हुन्छ । तर साँझको कार्यक्रम (लाइभ कन्सर्ट) मात्र नहुने भनिएको हो । लाइभ कन्सर्टको औचित्यता यसभन्दा अगाडिका मेलामा कम देखिएकाले पनि यो गर्नुपरेको हो । अर्को कुरा मेला परिसर वरिपरिका स्थानीयहरुले लाइभ कन्सर्ट नगर्न आग्रह गर्नुभयो । त्यसैले यसपाली पहिले जस्तो सांस्कृतिक कार्यक्रम हुदैन ।

.सबै वर्गका दर्शकका लागि आयोजना गरिएको मेला हो वा व्यवसायिक पृष्ठभूमीका दर्शक मात्रै आउनेछन ?

मेला त सबै वर्गका दर्शकका लागि नै आयोजना गरिन्छ नि । सांस्कृतिक कार्यक्रम कम भयो भन्दैमा व्यवसायिक पृष्ठभूमीका दर्शकले मात्र अवलोकन गर्ने होइन । सामान्य नागरिकले सस्तो मुल्यमा मेलाको अवलोकन गर्न पाउनेछन् । आफुलाई आवश्यक परेका चिजबिज सुलभ दरमा लान पाउनेछन् । आवश्यक परे व्यवसायिक तालिम समेत लिन पाउनेछन् । टिकट लिने दर्शकले पोखराका हस्पिटलहरुमा सहुलियत रुपमा उपचार गर्न पाउनेछन् ।

.मेला सफल बनाउन लगानी कति गर्दैहुनुहुन्छ ?

एक करोड रुपैयाँ उठाउने लक्ष्य छ । जसमा पचासी लाख मेला सम्पन्न गर्न लाग्छ । जम्मा १५ लाख बचत गरी पोखरा उद्योग बाणिज्य संघले भावी समयमा आयोजना गर्ने तालिम व्यवस्थापनमा खर्च गर्ने लक्ष्य छ। अन्तमा, पोखरा र पोखरा आसपासका आम नागरिकलाई मेलाको अवलोकन गरी व्यवसायिक प्रवद्र्धनमा टेवा पुर्याउन आग्रह गर्दछु ।

news source : parichaya.com

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्