समानुपातिकमा कांग्रेसबाट तीन जना पुरूष मात्र सांसद बन्ने

समाचार बिज
  • ख-
  • ख+

यसपालिको प्रतिनिधि सभामा नेपाली कांग्रेसबाट ३ जना पुरूषमात्रै समानुपातिकतर्फबाट सांसद बन्ने सम्भावना देखिएको छ।

प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १ जना मात्रै महिला उम्मेदवारले जितेकाले कांग्रेसबाट समानुपातिकबाट तीन पुरूषमात्रै  सांसद बन्ने अवस्था बनेको हो। संघीय संसदमा महिलाको प्रतिनिधित्व अनिवार्य रूपमा ३३ प्रतिशत हुनुपर्ने संवैधानिक प्रावधान छ।

संघीय संसद भन्नाले प्रतिनिधि सभा र राष्ट्रिय सभा दुबै सम्मिलित संसदलाई बुझिन्छ। नेपालको संविधानको धारा ८६ को संघीय व्यवस्थापिकासम्बन्धी प्रावधानले भनेको छ, ‘प्रतिनिधि सभा र राष्ट्रिय सभा नामका दुई सदन सहितको एक संघीय व्यवस्थापिका हुनेछ जसलाई संघीय संसद भनिनेछ।’

प्रतिनिधि सभा २ सय ७५ सदस्यीय छ भने राष्ट्रिय सभा ५९ सदस्यीय छ। संघीय संसदमा ३३ प्रतिशत महिलाको उपस्थिति सुनिश्चित गर्नका लागि संघीय संसदमा प्रतिनिधित्व गर्ने हरेक राजनीतिक दलले एक तिहाई महिला पठाउनै पर्ने बाध्यकारी प्रावधान छ। संविधानको धारा ८४ को उपधारा ८ मा भनिएको छ, ‘संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कूल सदस्य संख्याको एक तिहाइ महिला हुनु पर्नेछ।’

राष्ट्रिय सभामा अहिले कांग्रेसको १० सिट छ। जसमा महिला सांसदको संख्या ३ जना छ। राष्ट्रिय सभामा हिसाब गर्दा कांग्रेसबाट महिला सांसदको संख्या ३० प्रतिशत पुग्छ।

प्रतिनिधि सभामा भने अहिलेसम्म कांग्रेसले जितेका ५५ जनामध्ये १ जना मात्र महिला छन्। यसपटक कांग्रेसले पाँच जना महिलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको थियो। अर्घाखाँचीबाट पुष्पा भुसाल, मकवानपुर-१ बाट डिना उपाध्याय,  सिराहा-२ मा चित्रलेखा यादव, मोरङ् २ बाट सुजाता कोइराला र तेह्रथुमबाट सीता गुरूङलाई उम्मेदवार बनाएको थियो। यीमध्ये सीता गुरूङ मात्रै निर्वाचित भएकी छन्।

बाजुरा र स्याङ्जा २ मा मतगणना जारी  छ। त्यहाँ कांग्रेसका उम्मेदवार निर्वाचित भएको परिस्थितिमा प्रत्यक्षमा कांग्रेसको ५७ सिट पुग्ने छ। समानुपातिक निर्वाचन प्रणालीमा हालसम्म कांग्रेसले २६ लाख ७ हजार ८ सय ३१ मत ल्याएको छ। आयोगको विभाजक सुत्रअनुसार यो मतबाट कांग्रेसले समानुपातिकतर्फ ३२ सिट प्राप्त गर्छ।

अहिलेसम्मको परिणाम हेर्दा संघीय संसद (राष्ट्रिय सभा र प्रतिनिधि सभा) मा कांग्रेसका ९७ जना सांसद हुने छन्।

९७ जनामा ३३ प्रतिशत महिला पुर्‍याउनका लागि ३३ जना महिला सांसद हुनुपर्छ। अहिलेसम्म प्रतिनिधि सभातर्फ १ जना महिला निर्वाचित भएकी छिन् भने राष्ट्रिय सभामा तीन जना महिला छन्। कांग्रेसले अब संविधानको व्यवस्थाअनुसार समानुपातिक सूचीमा रहेका २९ जना महिलालाई प्रतिनिधि सभामा पठाउनु पर्छ।

यो परिस्थितिमा पार्टीबाट समानुपातिकतर्फ ३ जना मात्रै पुरूष सांसद बन्ने नेता मिनेन्द्र रिजालले बताए।

‘संघीय संसदमा प्रत्यक्षबाट एक महिला निर्वाचित हुनुभएको छ भने राष्ट्रियसभामा ३ जना हुनुहुन्छ। त्यसैले समानुपातिकबाट कांग्रेसले ३२ सिट पाउँदा २९ जना महिलालाई अनिवार्य पठाउनु पर्ने हुँदा ३ पुरूषमात्रै समानुपातिकबाट निर्वाचित हुने स्थिति छ,’ रिजालले भने।

३ जना मात्र पुरूष सांसद बन्ने अवस्था आउँदा जुनसुकै क्लस्टरको पहिलो नम्बरमा रहेका व्यक्तिलाई सांसद बनाउन सकिने नेता रिजालले बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्