सत्ता गठबन्धनकै कारण आर्थिक संकटः ओली

समाचार बिज
  • ख-
  • ख+

पोखरा ।
नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई बदनाम गराउन आफूमाथि अनर्गल आरोप लगाइएको बताएका छन् । सोमबार पोखरामा एमालेको गण्डकी प्रदेश कमिटीका नवनिर्वाचित पदाधिकारीहरुको शपथग्रहण कार्यक्रममा उपस्थित भएका ओलीले एमालेलाई बद्नाम गर्नका लागि मात्रै अनेकौँ हल्लाहरु चलाउने गरिएको बताएका हुन् । कम्बोडियाको टेलिकममा लगानी गरेको भनेर हल्ला फैलाउनुको कारण पनि एमालेलाई बद्नाम गर्नको लागि मात्रै रहेको उनले बताए ।

‘कम्बोडियामा तीन हजार करोड मैले राखेको छु भने पत्ता लगाउनुस् । धेरै त भन्दिनँ, एक हजार रुपैयाँ थपेर तपाईंकै नाममा गर्दिन्छु,’ उनले भने । कालापानीको भूभाग नेपालको नक्सामा सामेल गरेपछि तीन वर्षअघि एक भारतीय टेलिभिजनले उक्त अफवाह फैलाएको र पछि माफी मागेर उक्त सामग्री हटाएको उनले स्पष्ट पारे । गल्ती सच्याएपछि मात्रै आफूले उक्त टेलिभिजनलाई अन्तरर्वार्ता दिएको प्रसंग उनले सुनाए । उनले जनताको मत र अभिमत जितेर २०८४ मा एकल बहुमतको सरकार बनाउने बताएका छन् ।

अधिवेशनले म्याग्दीका नवराज शर्माको अध्यक्षतामा एक सय ५५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको थियो । ओलीले देशमा राजनीतिक रूपमै डकैती भइरहेको आरोप लगाए । भन्सार र एयरपोर्टबाट कर छलेर तस्करी भइरहेको र सरकारले कारबाही गर्न नसकेको उनको आरोप उनको छ । ‘भन्सारमा कर उठ्दैन, तस्करी मात्रै हुन्छ । एयरपोर्टबाट क्विन्टल सुन बरामद भयो, ६० किलोमा झ¥यो’ अघि भने, ‘डकैती भइरहेको छ देशमा । साढे ९ केजी सुन बरामद भएको थियो, अहिले २ किलो होला । त्यहीँबाट खाए, सिद्ध्याए ।’

ओलीले देश टाट पल्टिने अवस्थामा पुगेको बताए । ‘विगत दुई वर्षमा देशको अवस्था गम्भीर छ । बनाउन धेरै समय लाग्छ, ध्वस्त बनाउन समय नलाग्ने रहेछ । आर्थिक रूपमा टाट पल्टिने अवस्था छ’, उनी भन्छन्, ‘विदेशमा गएका नानीबाबुले पठाएका रेमिट्यान्सले मात्रै देश चलेको छ । अन्त डामाडोल छ ।’ ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायतले कम्युनिस्ट पार्टी फुटाएर दक्षिणपन्थीको करेसामा बास माग्न पुगेको बताए । ‘देशी विदेशी शक्ति मिलेर मलाई पार्टीबाट निष्कासन गरे । २ तिहाइको पार्टी फुटाउने, सरकार ढाल्ने उनीहरूको गन्तव्य स्पष्ट भयो,’ उनले भने, ‘कम्युनिस्ट आन्दोलन सिध्यायौं दक्षिणपन्थीको करेसामा बास माग्न जानुभयो ।’ आफ्नो कार्यकालमा नेपालको उल्लेखनीय प्रगति भएको दाबी गर्दै ओलीले अहिले डामाडोल भएको बताए ।‘मेरो कार्यकालमा दक्षिण एसियाको उदीयमान अर्थतन्त्र भएको देश भनेर नेपालको प्रशंसा गरिएको थियो । विश्वमा तीव्र विकास गर्ने १० देश मध्ये एक हो भनेर प्रचार भएको थियो’ ओलीले भने, ‘अहिले नेपाल दक्षिण एसियाको सबैभन्दा गरिब राष्ट्र बनेको छ । यो गठबन्धनको उपलब्धि हो ।’ उनले अझै २० वर्ष राजनीति गरेर विरोधीलाई तह लगाउने चेतावनी समेत दिए । ओलीले कम्बोडियामा लगानी गरेको विषयमा केही दिनअघि मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आरोप लगाएका थिए । सोही आरोपलाई लिएर ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष प्रसाईँलाई पक्राउ गर्न माग गरेको समाचार बाहिरिएका थिए । ओलीले त्यसको पनि खण्डन गरेका छन् । ‘मैले दुर्गा प्रसाईँलाई पक्राउ गर्न प्रचण्ड गुहारेको भनेर प्रचार भइरहेको छ, काटिएर जाओस् यो शिर, त्यस्ताहरूसँग शिर झुक्दैन । भोकै मर्छ, बाघ घाँसका त्यान्द्रा टिप्न जाँदैन,’ उनले भने ।

गुटगत गतिविधिमा ओलीको असन्तुष्टि
गण्डकी प्रदेश अधिवेशनमा अस्वस्थ प्रतिस्पर्धा भएको भन्दै ओलीले सोमबार सपथ ग्रहणमा असन्तुष्टि जनाएका छन् । ओलीले प्रतिस्पर्धामा स्वच्छता नभएको टिप्पणी जनस्तरको रहेको भन्दै असन्तुष्टि पोखेका हुन् । अध्यक्ष ओली प्रदेश अधिवेशनमा आफूले चाहेका नेता सर्वसम्मत गराउन चाहन्थे । तर, गत १५ देखि १९ असोजसम्म भएको गण्डकीको प्रथम अधिवेशनमा प्रदेश अध्यक्षमा मायानाथ अधिकारी र नवराज शर्माबिच प्रतिस्पर्धा भएको थियो ।

ओलीले नेताहरुलाई सचेत गराउँदै घुमाउरो रूपमा चेतावनी दिएका छन् । ‘प्रतिस्पर्धामा जुन स्तरको स्वच्छता आवश्यक थियो । त्यसमा कमी रहेको जनस्तरको टिप्पणी जानकारी गराइदिन्छु,’ उनले भने, ‘त्यसमा तपाईंहरु सतर्क हुनुपर्छ । घाटा तपाईंहरू आफैँलाई हुन्छ । मुख्य कुरा हो नेकपा एमाले ।’ कम्युनिस्टभित्र घमण्ड हुन नहुने र त्यसो हुँदा सकारात्मक सोचको वातावरण नबन्ने दाबी अध्यक्ष ओलीले गरे । भौतिक रूपमै असहिष्णु हुने, निषेध गर्ने र समाप्त पार्ने काम पार्टीभित्र हुन नहुने उनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्