अहिलेको सरकार जनता र राष्ट्रको सरकार हुन सकेन: शंकर पोखरेल

समाचार बिज
  • ख-
  • ख+

नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको गठबन्धन सरकार जनता र राष्ट्रको सरकार बन्न नसकेको बताएका छन्।

एमालेनिकट थारूहरूको संगठन नेपाल लोकतान्त्रिक संघको लुम्बिनी प्रदेश स्तरीय प्रथम भेलालाई घोराहीमा सम्बोधन गर्दै लुम्बिनीका संस्थापक मुख्यमन्त्रीसमेत रहेका पोखरेलले अहिलेको सरकारले नेपाल र नेपालीको हितमा भन्दा पनि विदेशी इसारामा काम गरिरहेको आरोप लगाए।

‘जुन प्रकारको गठबन्धन सरकार बनेको छ यो सरकार न जनताको सरकार हुन सक्यो, न राष्ट्रको सरकार हुन सक्यो,’ पोखरेलले भने, ‘देशका प्रधानमन्त्री आफैंले भन्ने गर्छन् म त छिमेकीहरूका लागि कम्फर्टेबल छु।’

नेपालका प्रधानमन्त्री प्रचण्ड विदेश भ्रमण जाँदै गर्दा नेपालको पक्षमा पैरवी गर्न आँट नगर्नु र भारत भ्रमणमा जाँदा इपिजीको इ पनि उच्चारण गर्न नसकेको पोखरेलले बताए।

‘नेपाल भारत सम्बन्धका बारेमा जति समस्याहरू छन् चाहे त्यो सिमानाको समस्या होस् वा डुवानको समस्या उठाउने आँटै गर्दैनन्,’ पोखरेलले भने, ‘यतिबेला यो सरकार जनताको ढाड सेक्ने, दलाल, तस्करहरूलाई, नोकर साहहरूलाई , कमिसन खोरहरूलाई संरक्षण गर्ने काम गर्दै आएको छ।’

आफ्नो भ्रमणमा नेपाल र नेपालीका समस्या उठान गर्ने र पैरवी गर्ने आँट नगर्ने प्रधानमन्त्री देश तथा जनाको हितमा भन्दा पनि विदेशीको हित अनुकूल काम गरिएको उनले आरोप लगाएका थिए।

‘राष्ट्रिय आवश्यकताभन्दा विदेशीको इसारामा नाच्ने प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेपाल र नेपालीको हित अनुकूल काम गर्छन् भन्ने विश्वास छैन,’ उनले भनेका थिए, ‘यस्तो सरकार जति लामो समयसम्म देशमा रहन्छ देशको बर्बादी उही रूपमा हुँदै जानेछ।’

कार्यक्रममा थारू अगुवाहरूले नेपालको आदिवासी थारू समुदायको हकहितका लागि ठूला दलहरू अनुदार रहेको भन्दै थारू क्लस्टर निर्माण गरेर थारू समुदायलाई हरेक क्षेत्रको मूल प्रवाहमा ल्याउनुपर्ने माग गरेका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्