अर्थतन्त्रका सवै समस्या समाधान गर्न नेपाल उद्योग वाणिज्य महासंघले पहल गर्ने

समाचार बिज
  • ख-
  • ख+

नेपाल उद्योग वाणिज्य महासंघले वर्तमान आर्थिक समस्या समाधानका लागि सरकार, राष्ट्र बैंक, विकास साझेदार, अर्थविद् तथा निजी क्षेत्रको सहकार्यमा वृहत् राष्ट्रिय विमर्श गरी रोडम्याप बनाउने निर्णय गरेको छ ।बागलुङ्ग जिल्लाको ढोरपाटनमा सम्पन्न महासंघ कार्यकारिणी समितिको तेस्रो बैठकले सबै पक्ष मिलेर समस्याको समाधान खोज्न आग्रह गर्दै हालको समस्यामा निकास निकाल्ने गरी असोज अन्तिम साता वृहत राष्ट्रिय विमर्शको आयोजना गर्ने निर्णय गरेको हो ।

सरकार तथा नियामक निकायले निजी क्षेत्रले उठाएका विषयहरू गम्भिरतापूर्वक नलिने र अर्थतन्त्र तथा व्यवसायका विषय निजी क्षेत्रका मात्र समस्या ठान्ने  गरेको महासंघको गुनासो छ । कार्यकारिणी समितिको निर्णय सार्वजनिक गर्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल भ्रमण वर्ष २०२५ लाई सफल बनाउने सहित ४ वटा महत्त्वपूर्ण निर्णय गरेको जानकारी दिए ।

नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण दशकलाई सफल बनाउनेगरी निजी क्षेत्रले भ्रमण वर्षभर महासंघको केन्द्र, प्रदेश र जिल्ला/नगरमा पर्यटन पवर्द्धनसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गर्नुका साथै यसका सदस्य संघ/संस्थाका लेटर प्याडमा भ्रमण वर्षको लोगो राख्ने उनले बताए ।

त्यसैगरी, महासंघले सात वटै प्रदेशमा प्रदेश सरकारसँगको सहकार्यमा लगानी सम्मेलन गर्ने, भारत तथा चीनको लगानी भित्र्याउन केन्द्र सरकारसँगको सहकार्यमा भारत तथा चीन केन्द्रित राष्ट्रियस्तरका सम्मेलनहरू आयोजना गर्ने निर्णय गरेको छ ।

महासंघले ७७ वटै जिल्लाका व्यवसायीहरुको सहभागितामा वृहत लगानी कम्पनी स्थापना गरी ठूला तथा बहुआयामिक आयोजनाहरुमा लगानी गर्ने निर्णय गरेको ढकालले बताए । महासंघका सदस्यहरुमा संस्थाप्रति अपनत्वको भावना विकास गर्दै स्थानीय सम्भावनालाई पहिचान गरी लगानी अभिवृद्धि गर्न महासंघले मुलुकभित्रका सम्भावनायुक्त विभिन्न स्थानमा महासंघका वैठक आयोजना गर्न सुरु गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्