
पोखरा ।
लायन्स क्लब अफ इन्टर नेसनल डिस्ट्रिक ३२५ ‘जे’ नेपालले पोखरा २२ पुम्दीकोटस्थित विशाल महादेवको मूर्ति निर्माणका अभियन्ता चन्द्रकान्त बराललाई सम्मान गरेको छ । डिस्ट्रिकमा आवद्ध लायन्स क्लब अफ पोखरा अन्नपूर्णसहितका पोखरा शीतलचौतारी, पोखरा अन्नपूर्ण नाइस, मर्दी हिमाल र पोखरा सराङकोटको सपथ ग्रहण तथा संयुक्त पदस्थापन कार्यक्रममा डिस्ट्रिक गभर्नर हरिप्रसाद मरहट्टाले बराललाई ताम्रपत्र, दोशल्ला र सम्मानपत्र प्रदान गरे ।
गरिमा विकास बैंकका पूर्व अध्यक्षसमेत रहेका बराल पुम्दीकोट विशाल महादेवको मूर्ति स्थापनाका प्रमुख सूत्रधार हुन् । लायन्स क्लब अफ पोखरा फिस्टेलका पूर्व अध्यक्षसमेत रहेका बरालले दर्जनौं सामाजिक संघ, संस्थाको नेतृत्व गरिसकेका छन् । बराल २०४० देखि पोल्ट्री व्यवसायमा आवद्ध छन् ।
डिस्ट्रिक गभर्नर मरहट्टाले ४ दशकदेखि विभिन्न व्यसायसँगै समाज सेवामा सक्रिय बरालले पुम्दीकोटमा करोडौं लगानीमा विशाल महादेवको मूर्ति निर्माण गरेर नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास गरेकोमा प्रशंसा गरे । उनले समाजसेवी बरालको अगुवाइमा महादेवको मूर्ति निर्माण भएसँगै पोखरामा नयाँ पर्यटकीय गन्तव्य थापिएको बताए ।
४ दशकदेखि व्यसायसँगै समाजसेवामा सक्रिय चन्द्रकान्त बरालले पुम्दीकोटमा करोडौं लगानीमा विशाल महादेव मूर्ति निर्माणको अगुवाइ गरेका छन्
उनले भने, ‘एउटा व्यक्तिको योजनामा पुम्दीकोट समग्र पोखरा क्षेत्रकै महत्वपूर्ण धार्मिक एवं पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ । महादेवको विशाल मूर्ति र अन्य पूर्वाधार निर्माणसँगै पोखरा भित्रिने पर्यटकको रोजाइको क्षेत्रमा पर्न थालेको छ । मूर्ति निर्माणले स्थानीय र समग्र पोखराको पर्यटन विकासमा कोसेढुंगा सावित हुँदै छ ।’ गभर्नर मरहट्टाले बराल लायन्सकै पूर्व अध्यक्ष भएको बताउँदै लायन्स सदस्यको अगुवाइमा करोडौंको परियोजनाले मूर्तरुप लिँदा गौरवको अनुभूति भएको उल्लेख गरे ।