सेदीमा ५ तारे होटल बनाउँदै बाराही ग्रुप

समाचार बिज
  • ख-
  • ख+

पोखरा ।
हस्पिटालिटी क्षेत्रमा ४ दशक अनुभव सँगालेको बाराही ग्रुपले पोखराको सेदीमा ६ अर्बको लगानीमा पाँचतारे होटल सञ्चालनको तयारी गरेको छ । बाराही ग्रुपको नेतृत्वमा निर्माणाधीन होटल सन् २०२६ भित्र सञ्चालनमा आउनेछ । कम्पनीले काठमाडौँमा पत्रकार सम्मेलन गरी १ हजार २ सय जना क्षमताको सभाहलसहित होटल निर्माण भइरहेको जानकारी दिएको हो । ६३ रोपनीमा निर्माण हुँदै गरेको होटलमा १ सय ७१ कोठा बन्ने छन् ।

होटलमा क्यासिनो, स्पा, फिटनेस सेन्टर लगायत सुविधा रहने छन् । पब्लिक लिमिटेड कम्पनी रहेको बाराही सेदी लिमिटेडको आइपीओमासमेत जाने योजना बनाएको छ । सन् २०२४ भित्रै सञ्चालनमा ल्याउने योजना रहे पनि कोभिड १९ महामारीका कारण निर्माण अवरुद्ध भएको बाराही हस्पिट्यालिटीका संस्थागत निर्देशक योगेन्द्र थापाले जानकारी दिए । अहिले होटल द्रुत गतिमा निर्माण भइरहेको छ । भौतिक पूर्वाधारतर्फ ४६ प्रतिशत काम भएको छ ।

हस्पिटालिटी क्षेत्रको लामो अनुभवलाई ५ तारे सुविधासम्पन्न होटलमार्फत सेवा विस्तार गर्न लागिएको निर्देशक थापाले जनाए । बाराही सेदी लिमिटेडको नामबाट पब्लिक लिमिटेड दर्ता गरी निर्माण भइरहेको होटलको छिट्टै आइपिओ निष्कासन गर्ने योजना रहेको उनको भनाइ छ । अन्तर्राष्ट्रिय स्तरका सभा, सम्मेलन गर्ने र खर्चालु पर्यटकलाई लक्षित गर्दै पोखरामा पाँचतारे होटल निर्माण गरिएको निर्देशक थापाले सुनाए ।‘पोखरामा ५ तारे फूलबारी रिसोर्ट बन्द भएपछि लक्जरी ५तारे होटलको अभाव महसुस भयो । हाइ–इन्ड पर्यटकलाई सेवा दिने विश्वाससहित कम्पनीले सन् २०२६ सम्म होटल सञ्चालनमा ल्याउने योजना बनाएको हो’, उनी भन्छन् ।

सरकारले पोखरामा सन् २०१४ मा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) समिट आयोजना गर्ने योजना बनाएको थियो । तर, पोखरामा पाँचतारे होटल नहुँदा काठमाडौँमा आयोजना गरिएको थियो । पोखरामा लग्जरी होटलको अभाव पूर्ति गर्ने बाराही ग्रुपका प्रबन्ध निर्देशक विप्लव पौडेलको पोखरामा पाँचतारे होटल बनाउने योजना अनुरुप परियोजनाअघि बढेको थापा जनाउँछन् ।

पोखरामा १० कोठाको प्याराडाइज गेस्ट हाउस सञ्चालन गर्दै स्थापना भएको बराही ग्रुपले हाल पोखराको लेकसाइटमा ४ तारे होटल बाराही, रासाङकोट माउन्टेन लज, आवास पोखरा, चितवनमा बाराही जंगल लज, र काठमाडौँमा चारतारे होटल बाराही काठमाडौँ सञ्चालन गर्दै आएको छ । यस्तै, बाराही ग्रुपले पोखरामा ब्यञ्जन रेस्टुराँ र द बिच बार एन्ड लजसमेत सञ्चालनमा ल्याएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्