चीन भ्रमणको तयारीमा रहेका प्रधानमन्त्रीले भने, ‘ऊर्जा क्षेत्रमा दुरगामी महत्वका सम्झौता हुन्छ’

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनसँग ऊर्जा क्षेत्रमा दुरगामी महत्वका सम्झौता हुने बताएका छन्।प्रधानमन्त्री दाहालले शुक्रबार नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै चीनसँग ऊर्जा क्षेत्रमा विभिन्न सम्झौता हुने बताएका हुन्। तर उनले दुरगामी र महत्वपूर्ण भनेका सम्झौताबारे स्पष्ट पारेनन्।

प्रधानमन्त्री दाहाल असोज पहिलो साता चीन भ्रमणको तयारीमा छन्। नेपाल र चीनबीच अहिलेसम्म विद्युत व्यापार सम्झौता हुने सकेको छैन। दुई देशबीच विद्युत व्यापारका लागि प्रसारणलाइन समेत छैन। भारतबाहेक देशसँग नेपालले विद्युत व्यापार सम्झौता गरेको छैन।

रातमाटे-केरुङ ४०० केभी प्रसारणलाइन निर्माण गर्ने भनिएपनि चर्चामै सीमित छ। त्यस्तै चिनियाँ लगानीकर्ताले धमाधम जलविद्युत आयोजनाबाट हात झिकिरहेका छन्।

प्रधानमन्त्री दाहालले यही वर्षायामभित्र नेपाल-बंगलादेश विद्युत व्यापार सुरू हुने बताए। उनका अनुसार यसका लागि नेपाल, भारत र बंगलादेशका सम्बन्धित निकायबीच सम्झौतामा हस्ताक्षरको अन्तिम तयारी छ। अन्तरदेशीय प्रसारण संरचनाको निर्माणमा त्रिपक्षीय समझदारी जुटाइ नेपाल-बंगलादेश विद्युत व्यापारलाई भविष्यमा क्रमशः बढावा दिँदै लैजाने परिस्थिति बनेको उनको दाबी छ।

उनले आगामी दुई वर्षभित्र सबै नेपालीको घरमा विद्युत पुर्‍याउने लक्ष्यअनुरूप प्राधिकरणले प्राथमिकताका साथ काम गरिरहेको बताए। ‘उक्त लक्ष्य हासिल गर्न प्राधिकरण सफल हुनेमा म विश्वस्त छु। यसबाट आम जनताको जीवनशैलीमा सकारात्मक परिवर्तन आउनुका साथै अर्थतन्त्रले समेत उल्लेख्य गति लिनेछ,’ उनले भने।

हाल नेपालले करिब ४५० मेगावाट विद्युत भारतमा निर्यात गरिरहेको छ। नेपालको विद्युत १० वर्षमा १० हजार मेगावाट निर्यात गर्ने गरी भारतसँग द्विपक्षीय समझदारी भइसकेको छ। प्रधानमन्त्री दाहालले जेठ तेस्रो साता गरेको भारत भ्रमणमा उक्त समझदारी भएको हो। उक्त समझदारीलाई मूर्तरूप दिन दुवै देशका तर्फबाट आवश्यक कार्य भइरहेको दाहालले बताए।

उनका अनुसार बुटवल-गोरखपुर ४०० केभी प्रसारण लाइन निकट भविष्यमै निर्माणको चरणमा जाने छ। त्यसका लागि नेपाल र भारत दुवैतर्फ आवश्यक कार्य अघि बढाइएको छ। इनरुवा-पूर्णिया र दोधारा-बरेलीको निर्माण प्रारूप आगामी २ महिनाभित्र उर्जा सचिवस्तरीय संयन्त्रमार्फत सहमतिमा पुर्‍याउन निर्देशन दिएको दाहालले बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्