वर्ल्डलिंकको साढे १३ हजार कित्ता सेयर विदेशी कम्पनीले किन्यो, एक कित्ताको मूल्य ९ हजारमाथि

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं। इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनको सेयर बिक्री भएको छ। ओटीसी (ओभर द काउन्टर) बजारमा कम्पनीको साढे १२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो।

नेप्सेले उपलब्ध गराएको तथ्यांक अनुसार कम्पनीको १३ हजार ३९२ कित्ता सेयर १२ करोड ५५ लाख ५० हजार रुपैयाँमा कारोबार भएको हो। उक्त सेयर वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका संस्थापक तथा अध्यक्ष दिलिप अग्रवालसँग अमेरिकी कम्पनी इन्टरकन्टिनेन्टल एलएलसीले साउन ७ गते खरिद गरेको हो। प्रतिकित्ता मूल्य ९ हजार ३७५ रुपैयाँ परेको छ।

पछिल्लो समय यो कम्पनीले साधारण सेयर ल्याउने तयारी गरिरहेको चर्चा छ। वर्ल्डलिंकले नेपालको इन्टरनेट बजारमा २९ प्रतिशत बजार हिस्सा ओगटेको केयर रेटिङ्स नेपालको रेटिङ विवरणमा उल्लेख छ। फाइबर इन्टरनेटको हकमा वर्ल्डलिंकको बजार हिस्सा ३० प्रतिशत देखिन्छ।

वर्ल्डलिंकले ५ महिनाअघि ब्रिटिस इन्टरनेसनल इन्भेष्टमेन्टबाट १ अर्ब ८ करोड र डोल्मा इम्प्याक्ट फन्डबाट ९० करोड रुपैयाँ लगानी भित्र्याएको थियो।

साउन २८ सम्म ओटीसी बजारमा १ अर्ब २ करोड ९ लाख १२ हजार रुपैयाँको सेयर किनबेच भएको छ। ११ कम्पनीको यति रकमको कारोबार भएको हो।

कुन कम्पनीको कति सेयर बिक्री

आईएमई डिजिटल सोलुसन लिमिटेडको सबैभन्दा धेरै सेयर किनबेच भएको छ। यो कम्पनीको २९ लाख ४० हजार कित्ता सेयर ४० करोड ८ लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको हो। कम्पनीले प्रतिकित्ता १३६ रुपैयाँका दरले साउन ७ गते सेयर बिक्री गरेको हो।

यस्तै एभरेष्ट हस्पिटालिटी होटल लिमिटेडको पनि २० करोड ४५ लाख रुपैयाँको सेयर किनबेच भएको छ। कम्पनीले साउन १४ गते प्रतिकित्ता १०० रुपैयाँका दरले २० लाख ४५ हजार कित्ता सेयर बेचेको हो।

यामवालिङ हाइड्रोपावरको प्रतिकित्ता १०० रुपैयाँका दरले १३ लाख ५६ हजार १० कित्ता सेयर किनबेच भएको छ।

बीओके क्यापिटलको प्रतिकित्ता १११ रुपैयाँका दरले ७ लाख कित्ता सेयर ७ करोड ७७ लाख रुपैयाँमा कारोबार भएको छ। यस्तै हिम रिभर पावरको ६ लाख ५१ हजार कित्ता ६ करोड ५१ लाख, कन्चनपुरको जनज्योति एजुकेसन फाउन्डेसनको ४५ हजार कित्ता सेयर १०१ रुपैयाँका दरले ४५ लाख ४५ हजार, नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको २९ हजार ५०० कित्ता सेयर ११३ रुपैयाँका दरले ३३ लाख ३३ हजार ५०० रुपैयाँमा कारोबार भएको छ।

यस्तै मुक्तिनाथ कृषि कम्पनी र गरजंग उपत्यका पावरको पनि सेयर किनबेच भएको हो।

डिजिटलाइजेसनको अन्तिम तयारी

ओटीसी बजारमा अहिले कागजीरुपमा कारोबार हुन्छ। कम्पनीको दर्ता तथा सेयर किनबेच गर्न आवश्यक कागजात सहितको फाइल नेप्सेमा बुझाउनु पर्छ। नेप्सेले दर्ता तथा कारोबार भएका कम्पनीको रेकर्ड पनि कागजी रुपमा नै राख्छ।

नेप्से अब ओटीसी मार्केटलाई डिजिटलाइजेसन गर्ने अन्तिम तयारीमा छ। त्यसका लागि सफ्ट्वेयर निर्माण गरी परीक्षण समेत गरिसकिएको छ।

‘अहिले यो सिस्टममा धेरै फिचर्स छैनन्। आवश्यकता र कारोबारको आकार बढ्दै जाँदा फिचर्स पनि थप्दै जान्छौँ’, नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले भने, ‘सिस्टमबाटै केवाईसी भर्न मिल्छ। त्यसपछि खरिद बिक्री गरेको रेकर्ड सिस्टमले नै राख्छ।’ उनका अनुसार एक महिनाभित्र यो सिस्टम लागू हुने छ।

नेप्सेमा सूचीकृत नभएका कम्पनीको सेयर किनबेच हुने ठाउँ ओटीसी मार्केट हो। सामान्यता यस्तो बजारमा नेप्सेमा सूचीकरण हुन नसकेका, सूचीकरणबाट हटाइएका तथा योग्य हुन नसकेका कम्पनीको कारोबार हुने गर्छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्