सत्तापक्षले मजाक बनायो ‘गण्डकी प्रदेशसभा’

समाचार बिज
  • ख-
  • ख+

पोखरा/ बजेट पारित भएपछि असार २२ गतेयता रोकिएको प्रदेशसभा बैठक साउन २५ गते बस्ने भनेर शनिबार नै सबै प्रदेशसभा सदस्यहरुलाई सचिवालयले ‘सन्देश’ पठाएको थियो ।

दिनको एक बजे बोलाइएको बैठकको कार्यसूची पनि मोटामोटी रुपमा तय भइसकेको थियो । २३ गते बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सकेसम्म चारवटा विषयगत समितिमा सदस्य तोक्ने, मुख्यमन्त्रीले सम्बोधन गर्ने र शून्य तथा विशेष समय राख्ने बारेमा छलफल पनि भयो ।उक्त बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्ना प्रदेशसभा सदस्यहरु जिल्लाबाहिर रहेको र २५ गतेमात्र आउने हुँदा सोही दिन नाम दिन नसकिने जनायो ।

त्यसपछि मुख्यमन्त्रीले सम्बोधन गर्ने र शून्य तथा विशेष समय राख्नेगरि बैठकको कार्यसूची तय भयो । बुधबार पनि सभामुख कृष्ण धितालले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग सम्बोधन गर्ने नगर्ने बारेमा जिज्ञासा राखे । मुख्यमन्त्री पाण्डेले सम्बोधन गर्छु पनि भने । एक बज्नु अगाडि नै प्रदेशसभा सदस्यहरु प्रदेशसभा भवनमा पुगे । तर, सचिवालयले कार्यसूची टाँस्न सकेन । कारण चाहिँ, अन्तिम समयमा आएर मुख्यमन्त्री पाण्डेले तयारी नपुगेको भन्दै सम्बोधन नगर्ने जानकारी गराए ।

प्रदेशसभा बैठकलाई सम्बोधन गर्छु भनेका पाण्डे तयारी नपुगेको भन्दै पन्छिएपछि प्रदेशसभा बैठक नै के गर्ने भन्ने अन्योलमा पुग्यो । सभामुख धितालले पुनः कार्यव्यवस्था परामर्श समितिको बैठक डाके । त्यहाँ मुख्यमन्त्रीले सम्बोधन नगरे, प्रमुख प्रतिपक्षी दलको नेताले सम्बोधन गर्ने र सभा सञ्चालन गर्ने भन्ने छलफल भयो ।‘एकपटक दलको नेतालाई सोध्नुपर्छ भनेर म निस्केँ,’एमाले प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले भने । एमाले संसदीय दलका नेता खगराज अधिकारीले प्रदेशसभा बैठकलाई सम्बोधन गर्न तयार भए । तर पनि बैठक भने सुरु हुन सकेन । खगराज अधिकारी तयार भएतापनि प्रमुख प्रतिपक्षी दलको नेताले सम्बोधन गर्ने प्रचलन नरहेको भन्ने सन्देश लिएर पुगे– माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान । सभामुख धितालले पनि प्रमुख प्रतिपक्षीले सम्बोधन गरेर सभा सञ्चालन गर्ने प्रचलन नरहेको जनाए ।आफूले पनि सम्बोधन नगर्ने, प्रमुख प्रतिपक्षीलाई पनि सम्बोधन गर्न नदिने सत्तापक्षीय अडानपछि बिहीबार एक बजेका लागि बोलाइएको गण्डकी प्रदेशसभा बैठकलाई अन्त्यमा ‘मजाक’को शैलीमा बिनाकारण अन्त्य गरियो । प्रदेशसभा सचिवालयले पुनः मेसेज पठाउँदै २९ गते आइतबार दिनको एक बजेका लागि बैठक बस्ने जनाएको छ । प्रदेशसभा अन्त्यको विषयलाई एमाले र कांग्रेसले एकअर्कालाई दोषारोपण गरेका छन ।

कांग्रेसका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले एमालेले विषयगत समितिमा रहने सदस्यको नाम नदिएका कारण प्रदेशसभा सुचारु नभएको बताए । मुख्यमन्त्रीले सम्बोधन गर्ने विषयलाई भने उनले बचाउ गरे ।
कांग्रेसका तर्फबाट कार्यव्यवस्था परामर्श समितिमा प्रतिनिधित्व गर्ने न्यौपानेले भने,‘मुख्यमन्त्रीले आज बोल्ने कि भन्ने थियो रे, उहाँले हिजै नबोल्ने भनेर भनिसक्नुभएको थियो, खास आज स्थगित भएको चाहिँ समिति गठनलाई डाकिएको थियो आज सदन । समिति गठन गर्नको लागि प्रमुख प्रतिपक्षी दलका साथीहरुले नाम दिनुपर्ने, उहाँहरुलाई २८ गतेसम्म समय लाग्ने भयो, त्यही भएर स्थगित भयो ।’

२३ गतेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा मुख्यमन्त्री बोल्ने, नबोल्ने निर्णय नभएको उनले बताए ।यता प्रमुख प्रतिपक्षी दलका नेता गोविन्दबहादुर नेपालीले चाहिँ सरकारले विजनेश नै नभइकिन सदन बोलाएको बताए ।
‘हामीलाई के लाग्यो भने, २५ गते बैठक बोलाएपछि एउटा न एउटा विधेयक ल्याएको होला भन्ने लाग्यो,’ उनले भने, ‘कार्यव्यवस्था परामर्श समितिमा हामीले भन्यौँ, केके विजनेश छ त सरकारसँग भन्दा केही पनि छैन ।’
प्रदेशसभा सचिवालयमा बुधबार मात्रै वन विधेयक दर्ता भएको छ । तर, दर्ता भएको दुई दिन नपुगी विधेयक सार्वजनिक नहुने प्रदेशसभा नियमावली २०८० मा उल्लेख छ ।

एमालेले बिहीबार नै प्रदेशसभा सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ । यो प्रस्तावमाथि तीन दिनभित्र छलफल गरिने नियमावलीको नियम ७२ (४) मा उल्लेख छ । सरकारले चाहे यही विषयलाई पनि बिजनेश बनाउन सक्ने तर बहुमतको आडमा बैठक नचलाएको आरोप उनको छ । ‘सरकारले यसलाई जरुर ठाने त आजै छलफल हुन सक्थ्यो, यो पनि विजनेश हो, यसैलाई छलफल गरौँ न त भनेको उहाँहरु तयार हुनुभएन,’ उनले भने,‘उहाँहरुको के अडान रह्यो भने मुख्यमन्त्रीले नबोल्ने भएपछि विजनेश भएन भन्नुभयो, उहाँले ।’ विधेयक पनि पेश गर्न नपाउने, समितिको गठन नहुनेलगायतका कारण बैठक स्थगित हुन पुग्यो ।

सभामुख कृष्ण धितालले आफूहरुको कमजोरी रहेको स्वीकार गरे । समिति गठन नभएको लामो समय भएको हुँदा यसलाई पूर्णता दिने छलफल भएको तर तयारी नपुगेको उनको भनाई छ । ‘विधेयक पनि अलि अगाडि ल्याइदिएको भए हुन्थ्यो, यो कानून निर्माण गर्ने थलो हो । यसमा अहिले हाम्रो ध्यान पुगेन,’ धितालले भने ।
एमालले दर्ता ग¥यो दुई जरुरी महत्वको प्रस्ताव

प्रदेशसभा सचिवालयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जरुरी महत्वको प्रस्ताव दर्ता गराएको छ । प्रस्तावमा उसले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र गाईवस्तुमा फैलिएको महामारी नियन्त्रणको माग गरेको छ ।
एमाले सचेतक देवका पहारीको प्रस्तावमा सांसद कृष्ण पाठक र यशोदा रिमालको समर्थनमा संसदमा पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्नेबारे छलफल आवश्यक रहेको भन्दै प्रस्ताव दर्ता भएको हो ।

जग्गा अधिग्रहण भएको ४७ वर्षपछि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भएमात्र ऋणको किस्ता तिर्न सक्ने अवस्था आउने सचेतक उल्लेख छ ।

‘हालसम्म भारत हुँदै उडान बाहिरिने पाँच वटा रुट खुला भए पनि नेपाल भित्रिने केवल सिमराको एउटा मात्र रुट खुल्ला छ । नेपालले कम्तिमा पनि नेपालगञ्ज, महेन्द्रनगरबाट नेपाल प्रवेश गर्ने नयाँ रुट लिन सकेमा पश्चिम भारत र पश्चिमतिरबाट नेपाल आउने जहाजका लागि पोखरा अन्तरराष्ट्रिय बिमान स्थल उपयुक्त हुन्छ,’प्रस्तावमा भनिएको छ ।

जम्मा २० वर्षमा चुक्ता गर्नुपर्ने कर्जा र ब्याजको किस्तामध्ये ७ वर्ष निर्माण समयको ग्रेस पाएको हुनाले अब ६–६ महिनामा गरी २६ किस्तामा सो कर्जा तथा ब्याज तिर्नु पर्ने अवस्था रहेको एमालेको भनाइ छ ।
यसैगरी, गाईवस्तुमा देखिएको लम्पी स्किन महामारी नियन्त्रण गर्न छलफल गर्नुपर्ने भन्दै जरुरी सार्वजनिक महत्वको अर्को प्रस्ताव पनि दर्ता गराएको छ । सांसद भीम कार्कीको प्रस्तावमा राप्रपाकी सचेतक विन्दु पौडेल र एमाले सांसद राजकुमारी भुजेलको समर्थनमा लम्पी स्किन रोग नियन्त्रणका लागि प्रस्ताव दर्ता भएको हो ।

लम्पीस्किन नियमन्त्रणका लागि प्रदेश सरकारलाई प्रभावकारी बनाउन, लम्पीस्किन फैलिन नदिन जनचेतना बढाउन, खोपको व्यवस्था गर्न, किसानलाई क्षतिपूर्ति दिलाइ राहत उपलब्ध गराउन, बीमा कम्पनीलाई समयमै रकम उपलब्ध गराउने प्रक्रिया अगाडि बढाउनुपर्ने भएकाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराइएको प्रस्तावक सांसद कार्कीले जानकारी दिए । गण्डकीका ८५ स्थानीय तहमध्ये ८२ वटामा यो रोग फैलिइसकेको छ । प्रारम्भिक प्राप्त तथ्यांकअनुसार २ हजार २८४ गाईबस्तु मरिसकेका छन् । अहिले पनि ३१ हजार ८६४ अहिले पनि बिरामी अवस्थामै छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्