दैनिक ८० वटा अन्तर्राष्ट्रिय फ्लाइट, कोरोनाअघिकै लयमा : महाप्रबन्धक प्रतापबाबु तिवारी

समाचार बिज
  • ख-
  • ख+

अन्तर्राष्ट्रिय उडानतर्फ हाल ३० वटा वायुसेवा कम्पनीले दैनिक ८० वटा उडान भरिरहेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार यो उडान संख्या कोरोनाअघिको तुलनामा थोरै मात्र कम हो।

कोभिड संक्रमण हुनुअघि नेपालमा ३२ वटा वायुसेवाले दैनिक एक सय वटा उडान गर्थे।

‘कोभिडअघि दैनिक एक सयभन्दा बढी उडान हुन्थ्यो। यसमा ११ हजारभन्दा बढी यात्रु आवतजावत गर्थे,’ विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले भने, ‘अहिले कोभिडअघिको अवस्थासँग तुलना गर्दा हवाइ उडानमा ८५ प्रतिशत रिकभरी भइसकेको छ।’

महाप्रबन्धक तिवारीका अनुसार अन्तर्राष्ट्रियतर्फ हाल दैनिक ८५ वटा उडान भइरहेको छ। जसमा १० हजारभन्दा बढी यात्रु आवतजावत गर्ने उनले बताए। कोभिडका कारण उडान बन्द गरेका अधिकांश मुलुकहरूले नेपालमा फेरि उडान गर्न थालिसकेका छन्।

कोभिडपछि लामो समयसम्म उडान रोकेको चीनले पनि अहिले नेपालमा उडान सुरू गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। कोरोनाको समयमा धेरैजसो एयरलाइन्सहरूले कार्गो सेवा भने दिइरहेका थिए।

तीनै एयरलाइन्सहरू अहिले नियमित उडानमा जोडिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए।

उनकाअनुसार आगामी साताबाट चिनियाँ वायुसेवा चाइना इस्टर्नले कुन्मिङदेखि काठमाडौं उडान गर्दैछ। यो उडानसँगै कोरोनाकालीन समयमा रोकिएका चीनियाँ एयरलाइन्सहरूको अब नियमित उडान हुनेछ। प्राधिकरणले चाइना इस्टर्नलाई आगामी सोमबार (अगस्ट १४) देखि सातामा एक उडान गर्न अनुमति दिएको छ।

कम्पनीले बोइङ ७३७-७०० जहाजमार्फत सुरूमा साताको एउटा उडान गर्ने भएको हो।

‘कम्पनीले सुरूमा साताको एउटा उडान गर्न पाउने गरी अनुमति पाएको छ,’ प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, ‘कम्पनीले माग अनुसार उडान संख्या बढाउँदै लैजाने जानकारी दिएको छ।’

चाइना इस्टर्नले कोभिडअघि सातामा ७ वटा उडान गर्दै आएको थियो। कोभिड नियन्त्रणमा आएपछि भने कार्गो उडान मात्र गर्दै आएको थियो। कोभिडपछि सुरूमा चीनबाट क्याथे प्सासिफिकले उडान थालेको थियो।

क्याथेले गत असोज २५ गते ए ३३०–३०० सिरिजको जहाजमार्फत उडान सुरू गरेको थियो। केही समयसम्म सातामा एक उडान भरेको क्याथेले अहिले उडान संख्या बढाएर सातामा पाँच पुर्‍याएको छ। हाल क्याथेले आइतबार, मंगलबार, बुधबार, शुक्रबार र शनिबार नियमित उडान गरिरहेको छ।

त्यस्तै, चीनको राष्ट्रिय ध्वजावाहक एयर चाइनाले कोभिडपछि गत जेठ २९ बाट नियमित उडान गरिरहेको छ। एयर चाइनाले भने सातामा सातै उडान गरिरहेको सूचना अधिकारी भुलले बताए।

तीन वर्षपछि गत असार २४ बाट पुन: नियमित उडानमा जोडिएको तिब्बत एयरलाइन्सले आइतबार र बिहीबार गरी सातामा दुई उडान गरिरहेको छ। एयरलाइन्सले सियान–काठमाडौं–सियान उडान गरिरहेको भुलले जानकारी दिए।

एयरलाइन्सले कोभिडअघि छेन्दु–काठमाडौं सातामा पाँचवटा चार्टर्ड उडान गर्थ्याे। अघिल्लो वर्षको चैतबाट सिचुवान एयरलाइन्सले पनि नियमित उडान गरिरहेको छ। कोभिडअघि छेन्दु-काठमाडौं सातामा चार उडान गरिरहेको सिचुवानले हाल सातामा सातवटै उडान गरिरहेको छ।

यससँगै चीनले आफ्ना ६ वटै वायुसेवामार्फत नेपालमा नियमित उडान थालेका छन्। चीन राजधानी बेइजिङतर्फ काठमाडौंबाट हिमालय एयरलाइन्सले पनि नियमित उडान गरिरहेको छ।

‘चाइनाले लामो समयपछि आफ्ना सबै उडानहरू फेरि थालिसकेको छ,’ सूचना अधिकारी भुलले भने, ‘अन्य मुलुकबाट पनि सबैजसो एयरलाइन्सहरू नियमित उडानमा जोडिइसकेका छन्।’

त्यस्तै छिमेकी मुलुक भारत–नेपालको हवाइ रूटमा हाल ६ वटा वायुसेवा छन्। जसमा हाल नियमित उडानमा एयर इन्डिया, इन्डिगो र भिस्तारा गरी तीन वटा भारतीय वायुसेवा छन्। विगतमा भारतबाट जेट, किङफिसर, स्पाइसजेट, जेटलाइट, एयर इन्डिया र इन्डियो एयरले पनि उडान गर्थे।

हाल नेपालमा अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाको संख्या ३० पुगेको छ। कोरोना संक्रमणअघि नेपालमा ३२ वटा वायुसेवाले अन्तर्राष्ट्रिय उडानमा थिए। प्राधिकरणका अनुसार हाल नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, कतार एयरवेज, एयर इन्डिया, इन्डिगो, भिस्तारा, फ्लाइ दुबई, एयर अरेबिया, एयर अरेबिया अबुधावी, सलाम एयरले नियमित उडान गरिरहेका छन्।

त्यस्तै, एयर चाइना, क्याथे प्यासिफिक, सिचुवान एयर, चाइना इस्टर्न, चाइना साउर्थन, टर्किस एयरलाइन्स, जजिरा एयरलाइन्स, विमान बंगलादेश, कोरियन एयर, भुटान एयर, सिंगापुर एयरलाइन्स, मलेसियन एयरलाइन्स, मालिन्दो एयर, टर्किस एयरलाइन्स, श्रीलंकन एयरलाइन्स, ड्रुक एयर, थाइ लाइन, थाइ स्माइल एयरवेजलगायत ३० वटा कम्पनीले नियमित उडान गरिरहेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्