प्रचण्डको छत्रछायाँमा ज्वाइँ आचार्यः दबाब र विवादमा छैनन् टसमस, तेस्रोपटक मन्त्रीको दौडमा

समाचार बिज
  • ख-
  • ख+

विराटनगर। नेकपा (माओवादी केन्द्र) को आइतबार सम्पन्न केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहाल र उनका श्रीमान् जीवन आचार्यका बारेमा प्रशस्त विवादास्पद र आरोपपूर्ण अभिव्यक्ति निस्किए।

केन्द्रीय सदस्य ओम शर्मालगायतका नेताले गंगा र जीवनका कारण पार्टी र सरकारको छवि बिग्रिँदै गएको र प्रचण्डले गरेका राम्रा काम पनि ध्वस्त भइरहेको भन्दै आलोचना गरे। तर, पार्टीभित्रको औधी विरोध र आलोचनालाई वास्ता नगरी ज्वाइँ जीवन आचार्य कोशी प्रदेश सरकारमा तेस्रोपटक मन्त्री हुने दौडमा छन्।

आचार्य २०७९ पुसमा एमालेका हिक्मत कार्कीको नेतृत्वमा गठन भएको प्रदेश सरकारमा पर्यटन, वन तथा वातावरण मन्त्री थिए।

कार्कीले प्रदेश सभामा बहुमत सिद्ध गर्न नसकेपछि सरकार गत असार १५ गते भंग भएको थियो। त्यसपछि तत्कालीन सभामुख बाबुराम गौतमसमेतको हस्ताक्षरमा बहुमत पुर्‍याएर असार २२ मा नेपाली कांग्रेसका उद्धव थापा मुख्यमन्त्री भए।

थापा नेतृत्वका सरकारमा पनि आचार्यले आकर्षक मन्त्रालय पाए। दोस्रो सरकारमा उनले पाएको मन्त्रालय थियो -आर्थिक मामिला तथा योजना।

तर साउन ११ गते सर्वोच्च अदालतले थापाको नियुक्ति नै बदर गरिदियो। तर सत्ता गठबन्धनले सभामुख गौतमलाई राजीनामा गर्न लगाएर बहुमत पुर्‍यायो। कांग्रेसकै थापा साउन १६ गते पुनः मुख्यमन्त्रीमा नियुक्त भए।

थापा मुख्यमन्त्री नियुक्न भएसँगै पार्टीका केन्द्रीय नेताहरुको आलोचनालाई बेवास्ता गर्दै ज्वाइँ जीवनले मन्त्रीको लबिइङ बढाएका छन्। माओवादी स्रोतका अनुसार उनी फेरि मन्त्री बन्न ससुरा प्रधानमन्त्रीलाई दबाब दिइरहेका छन्।

जीवन आचार्य।

को हुन् आचार्य?

आचार्य मोरङको बुढीगंगा गाउँपालिकामा पर्ने हात्तीमुढाका स्थायी बासिन्दा हुन्। उनी सामान्य खेतीपाती गर्ने परिवारका हुन्। परिवार राजनीतिमा खासै सक्रिय नभए पनि २०४६ सालमा प्रजातन्त्रको पुनःस्थापनापछि नेपाली कांग्रेस समर्थक भनेर चिनिन्थ्यो।

दिदी बबिता विद्यार्थीकालमा नेविसंघमा सक्रिय थिइन्। जीवनले हात्तीमुढाबाट नजिकै पर्ने सुनसरीको दुहबीस्थित सरकारी स्कुलमा प्रारम्भिक शिक्षा अध्ययन गरेका हुन्। उच्च शिक्षा विराटनगरको सरकारी कलेज महेन्द्र मोरङमा सम्पन्न भएको हो। कलेजमा उनको हिमचिम नेविसंघका नेताहरूसित थियो।

कलेज सकेपछि उनी काठमाडौं गए र त्यहाँ कम्प्युटर इन्स्टिच्युट सञ्‍चालन गर्न थाले। त्यही बेला प्रचण्डपुत्री गंगा दाहाल जीवनको इन्स्टिच्युटमा कम्प्युटर सिक्न आउन थालिन्।

त्यहीँ उनीहरूबीच चिनजान र घनिष्ठता भएको निकटहरु बताउँछन्। यही घनिष्ठता कालान्तरमा दाम्पत्यमा परिणत भयो। सामान्य परिवारका युवा व्यवसायी आचार्य माओवादीका सुप्रिमो प्रचण्डका ज्वाइँ बने।

उनी ज्वाइँमात्र भएनन्, ज्वाइँ हुनेबित्तिकै माओवादीका हैसियतवाला नेता पनि हुन पाए। हत्केलामा ज्यान राखेर ‘जनयुद्ध काल’देखि माओवादी पार्टीमा होमिएका नेता कार्यकर्ता आचार्य निवास धाउन थाले। सँगै ज्वाइँ भएकाले मात्र पार्टीमा अवसर पाएको र पार्टीमा कुनै योगदान नभएको भनेर पार्टीभित्र तीव्र विरोध पनि सुरु भयो

विरोधकै बीच सबैलाई आश्चर्यमा पार्दै जीवनले २०७४ को निर्वाचनमा प्रदेश सभा सदस्यको टिकट पाए। यस प्रकरणमा प्रचण्डले प्रशस्त विरोधको सामना गर्नुपर्‍यो। निर्वाचनमा जीवनले पराजय भोगे। नेपाली कांग्रेसका चुमनारायण तवदार विजयी भए।

आमनिर्वाचन २०७९ आइपुग्दा आचार्य पार्टीभित्र धेरै शक्तिशाली भइसकेका थिए। विराटनगरका औद्योगिक घरानाले प्रचण्डसित कुनै काम गराउनुपर्‍यो भने जीवनकै सहारा लिन थालिसकेका थिए। त्यसैले चुनावमा उनको टिकटमाथि त्यति धेरै विरोधका स्वर सुनिएनन्।

चुनावमा माओवादीले कांग्रेससित गठबन्धन गरेका कारण आचार्यलाई जित्न सहज भयो। उनी प्रदेश सभा सदस्य भए।

प्रदेशमा सांसदमात्र भएनन् हरेक सरकारका मन्त्री पनि भइरहे। सामान्य इन्टिच्युटका सञ्‍चालकको आयस्रोत पनि स्वाभाविकभन्दा बढी देखिन थाल्यो।

यस्तो छ सम्पत्ति विवरण

जीवनले प्रदेश सभामा बुझाएको सम्पत्ति विवरणमा उनका नाममा ललितपुर र विराटनगर दुई महानगरमा घर छन्। ललितपुरको सुनकोठीमा १० आना २ पैसा जग्गामा साढे दुई तल्ले पक्की घर छ। यो घर उनले ३६ लाखमा खरिद गरेको विवरण प्रस्तुत गरेका छन्।

त्यस्तै विराटनगरमा १५ धुर जग्गामा पनि साढे २ तल्ले पक्की घर भएको विवरणमा छ। यो घर १३ लाख ५० हजार रुपैयाँमा खरिद गरेको उल्खेख छ।

दुवै घर व्यवसाय तथा पैतृक सम्पत्तिबाट आर्जन गरेको बताएका छन्। पैतृक सम्पत्ति, पेशा र व्यवसाय चाहिँ कस्तो थियो भन्ने उनले उल्लेख गरेका छैनन्।

त्यस्तै साबिकको हात्तीमुढा र हालको बुढीगंगा गाउँपालिकामा आचार्यले आफूले गरेको व्यवसायबाट ६४ लाख ७० हजार रुपैयाँमा ४ हजार ६६२ वर्गफिट जग्गा खरिद गरेको विवरण भरेका छन्।

विवरणमा उनले हात्तीमुढामै १ हजार ९४७ वर्गफिट जमिन पैतृक सम्पत्तिबाट प्राप्त गरेको जनाएका छन्।

उनको बैंक ब्यालेन्स पनि नराम्रो छैन।

एनआईसी एसिया बैंकमा ४० लाख, बैंक अफ काठमान्डू (हाल ग्लोबल आइएमइ) मा १ लाख र प्राइम कमर्सियलमा ५० हजार रुपैयाँ बचत देखाएका छन्।

सम्पत्ति विवरण अनुसार जीवन काठमाडौंस्थित दुई व्यावसायिक कम्पनीका सेयर होल्डर पनि हुन्। एनस्याट प्रालिको ३३ प्रतिशत सेयर उनले लिएका छन्। यसको मूल्य ३० लाख रुपैयाँ देखाइएको छ। त्यस्तै जेएमडी ग्रुप अफ कम्पनीको ५० प्रतिशत सेयर छ। यसको मूल्य ५० लाख भएको जनाइएको छ।

दुवै कम्पनीको सेयर हात्तीमुढाको जग्गा बिक्री गरेर तथा लाइफ कम्प्युटर प्वाइन्टको व्यवसायबाट आर्जित रकमले खरिद गरेको उनले बताएका छन्।

उनले प्रभु बैंकबाट ५ लाख र सुनसरी दुहबीका ओम थापाबाट ८० लाख ऋण लिएको विवरणमा खुलाएका छन्।

आचार्यले प्रभु बैंकसित ४१ लाख रुपैयाँ ऋण लिएर क्रेटा गाडी खरिद गरेका छन्। उनीसित २० तोला सुन र ५० तोला चाँदी भएको विवरणमा उल्लेख छ।

‘राम्रा काम खाइदिए’

केन्द्रीय समितिमा सदस्य शर्माले प्रचण्डले प्रधानमन्त्री भएका बेला गरेका राम्रा काम उनका छोरी र ज्वाइँले खाइदिएको आरोप लगाएका थिए।

शर्माले ज्वाइँ जीवनको नाम लिँदै रोएकै भरमा प्रचण्डले मन्त्री बनाएको भनी आक्रोश व्यक्त गरेका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्