बोरामै १८५ सम्म बढ्यो चामलको भाउ, भारतको प्रतिबन्धले महँगी बढ्ने सम्भावना कति ?

समाचार बिज
  • ख-
  • ख+

भारतले बासमतीबाहेकका चामलको निकासिमा लगाएको प्रतिबन्धपछि नेपालमा चामलको भाउ केही बढेको छ । चामल प्रतिबोरा १८५ रुपैयाँसम्म बढेको पाइएको वाणिज्य विभागका प्रवक्तासमेत रहेका निर्देशक होमनाथ भट्टराईले बताए ।

उनका अनुसार काठमाडौँका ३ जिल्लामा गरिएको अनुगमनमा चामलको भाउ प्रतिबोरा ७५ रुपैयाँदेखि १८५ रुपैयाँसम्म बढेको हो । ‘हामीले खुद्रा पसलमा अनुगमन गरेका थियौँ, खुद्रा पसलवालाहरुले थोकबाटै मूल्य बढेर आएको भनेका छन्, अब हामी साँच्चै भाउ बढेको हो की होइन भनेर एलसीलगायतका कागजात हेर्दैछौँ’, उनले भने ।

विभागले धान, चामल आयातकर्ता, चामल उत्पादन गर्ने राइस मिलका सञ्चालकलगायतसँग यसबारे सोधपुछ र छलफल गरिरहेको जनाएको छ । विभागसँगको छलफलमा आयातकर्ता तथा मिल सञ्चालकले भारतले चामलको निकासी प्रतिबन्ध लगाए पनि धानको आयात नरोकिएको र भारतमै धानको भाउ बढेकाले त्यसको असर नेपालमा परेको जवाफ दिएका छन् । व्यवसायीका अनुसार भारतमा धानको भाउ प्रतिकिलो ३ रुपैयाँ (भारु) बढेको छ ।

‘अब अभाव रोक्न नेपाल सरकारले भारत सरकारसँग १५ लाख मेट्रिक टन धानको कोटा माग गर्नुपर्छ, १० लाख मात्रै आउँदा पनि पुग्छ’ नेपाल चामल, तेल, दाल उद्योग संघका अध्यक्ष सुबोधकुमार गुप्ताले भने, ‘हाम्रो देशमा ५५ लाख मेट्रिक टन धान उत्पादन हुन्छ, अहिलेको हिसाबमा हामीलाई अपुग देखिएको १० लाख मेट्रिक टन जति हो, यो उत्पादन तत्कालै बढाउन सकिँदैन भने भारत सरकारसँग कम्तीमा १० लाख मेट्रिक टन धानको कोटा छुट्याइदेउ भनेर अनुरोध गर्नुपर्ने देखिन्छ ।’

उनले अहिले बजारमा भारतबाट आयात गरिएको नयाँ धानको चामल आइसकेकाले केही मूल्य बढेको देखिए पनि महँगी अचाक्ली बढ्छ र बजारमा चामलको अभाव हुन्छ भन्ने खालका चर्चाहरुमा सत्यता नरहेको बताए ।

‘धानमा हामी करिबकरिब आत्मनिर्भरतर्फ गइसकेका छौँ, हामीलाई जम्मा १० लाख टन धान अपुग हो, यसको तत्कालका लागि व्यवस्थापन भनेको भारतसँग कोटा देउ भन्ने र यता उत्पादन बढाउने हो, सरकारले प्राथमिकतामा राख्यो भने एक/दुई वर्षमै यति उत्पादन बढ्छ’ अध्यक्ष गुप्ता थप्छन्, ‘अहिले चामल आयात रोकिँदैमा हाहाकार हुन्छ भन्ने छैन, धान उतैबाट आयात हुने भएकाले उता भाउ बढ्दा त्यसको अलिअलि प्रभाव देखिए पनि खास असर पर्छ जस्तो लाग्दैन ।’

बढाइयो बजार अनुगमन

भारतले जुलाई २० तारिखबाट चामलको निकासी रोकेपछि  बजारमा त्यसको असर पर्नसक्ने भन्दै सरकारले बजार अनुगमन बढाएको छ ।

बुधबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, गुणस्तर तथा नापतौल विभाग, वाणिज्य विभाग र जिल्ला प्रशासन कार्यालय समेतको संयुक्त अनुगमन टोलीले उपत्यकामा बजार अनुगमन गरेको छ । गत विहिबार पनि काठमाडौँ उपत्यकाका ३ वटै जिल्लाका खुद्रा पसलहरुमा अनुगमन गरिएको थियो ।

‘संयुक्त अनुगमनलाई निरन्तरता दिने निर्णय भएको छ, चामल अभाव नहोस् भन्नका लागि उद्योगी, व्यवसायीसहितको छलफल पनि भएका छन्’ वाणिज्य विभागका निर्देशक भट्टराईले भने, ‘चाडवाड नजिकिएकाले अब बजार अनुगमनलाई तीव्रता दिनुपर्छ भनेर ४ वटै निकायले संयुक्त अनुगमन गर्दैछन्, जिल्लामा पनि प्रशासनमार्फत बजार अनुगमन हुन्छ ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्