भन्सार जाँचपासबाटै बाहिरिएको थियो ठूलो परिमाणको सुन, दुई जना राजस्व टोलीको नियन्त्रणमा

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्गोबाहिरबाट हालसम्मकै ठूलो परिमाणमा सुन बरामद भएको छ।

राजस्व अनुसन्धान विभागको टोलीले बुधबार विमानस्थलबाट अहिलेसम्मकै ठूलो परिमाणमा सुन बरामद गरेको हो। विभाग स्रोतका अनुसार एक अर्बभन्दा बढी मूल्यको सुन भएको प्रारम्भिक अनुमान छ।

सुन हङकङबाट नेपाल ल्याइएको राजस्व स्रोतको भनाइ छ। परिमाण भने खुलिसकेको छैन।

मोटरका पार्टसभित्र सुन राखेर ल्याएको देखिएको छ। मंगलबार आएको सामान भन्सार कार्यालयबाट जाँचपास भएपछि बाहिरिएको थियो। त्यस लगतै राजस्वको टोलीले सामानसहित मानिसलाई नियन्त्रणमा लिएको हो। पार्टसभित्र हेर्दा सुन भेटिएको हो।

भन्सार कार्यालयको एक्सरे मेसिनले ठूला फलामका सामानलाई मेसिनमा राखेर हेर्न मिल्दैन। त्यसैले भौतिक रुपमा नै जाँच गरेर जाँचपास गरिएको हुन्छ। त्यसको फाइदा उठाउँदै सुन तस्करी भएको देखिएको हो।‘हाम्रो भन्सार कार्यालयमा ठूला मेसिनरी सामानको एक्सरे हुँदैन। त्यसैले भित्रको कुरा थाहा नभएको हो,’ भन्सार कार्यालयका एक कर्मचारीले भने।

राजस्व अनुसन्धानको टोलीले भन्सार एजेन्ट र अर्का एक जना व्यक्तिलाई नियन्त्रणमा समेत लिएको छ।पछिल्लो समय नेपाल प्रहरीको रेकर्डमा एकैपटक सबैभन्दा धेरै ८८ किलो सुन बरामद भएको थियो। २०७४ भदौमा ठमेलबाट चिनियाँ नागरिकले ल्याएको ८८ किलो सुन समातिएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्