काठमाडौं। उपत्यकामा एक दर्जन ताजा केरा सय रुपैयाँभन्दा कममा पाउन छाडेको करिब तीन वर्ष भयो। ७०/८० रुपैयाँ दर्जन पर्दै आएको केराको भाउ झण्डै दुई वर्षयता नघटेको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको दैनिक सूचीबाट खुल्छ।
समितिको सूचीमा केराको मूल्य शुक्रबार र शनिवार थोकमा प्रति दर्जन न्युनतम १२०, अधिकतम १३०, औसत मूल्य १२६ रुपैयाँ ६७ पैसा छ। खुद्रामा बिक्री मूल्य प्रति दर्जन १५० रूपैयाँ नाघिसक्यो। बजारमा स्याउ र केरा सदाबहार फलफूलमा पर्छ। भाउ जतिसुकै घटबढ भए पनि आपूर्ति र कारोबार चलेकै छ। महँगोमा खरिद गरिरहेका उपभोक्तालाई लाग्न सक्छ केराले भाउ पाएर किसान खुसी हुने बेला आएको हो?
‘होइन। पटक्कै होइन। नेपाली किसानको उत्पादनले भाउ पाएकै छैन,’ चितवन केरा व्यवसायी संघका पूर्वअध्यक्ष घनश्याम महतो भन्छन्, ‘बजारमा ठूलो जालो छ। नेपाली केराले भाउ पाउँदैन। इन्डियाबाट भित्रिने महँगोमा बिक्छ।’ भाउ उकालो लागिरहँदा पनि स्वदेशी किसानले बजार नपाएर खेती गर्न निरुत्साहित भएको गुनासो उनको छ।
केरा उत्पादनको आधार क्षेत्र मानिने चितवनमा गत वर्ष ३५ सय बिघामा केराखेती गरिएको थियो। यो वर्ष ३२ सय बिघामा खेती गरिएको पूर्वअध्यक्ष महतोले बताए। ‘बजार भाउ जति बढोस् हामीले राम्रो मूल्य पाउन मुस्किल छ,’ उनी भन्छन्, ‘अनेक खोट देखाउँछन्, हाम्रो उत्पादनलाई भाउ नदिन चाहने ठूलो सञ्जाल छ।’
हाल चितवनमा जहाजी (हरियो जी नाइन) केरा प्रतिकोसा ३ देखि ५ रूपैयाँमा बिक्री भइरहेको छ। मालभोग कोसाको ६ देखि ७ रूपैयाँ छ। तर खुद्रा व्यापारीले कुलेश्वर फलफूलको थोक बजारमा नै एक दर्जनको १०० रूपैयाँसम्म तिरिरहेका छन्।
नेपाल फलफूल थोक व्यवसाय संघ काठमाडौंका अध्यक्ष अम्मर बानियाँ थोक बजारमै केरा महँगिएको बताउँछन्। केहीअघि थोक बजारमै केरा १३० रूपैयाँभन्दा माथि पुगेकोमा हाल केही सस्तिएको उनको भनाइ छ। ‘काठमाडौंको बजारमा भित्रिएका केरामा स्वदेशी उत्पादन नगण्य मात्रै छ,’ उनले भने, ‘भारतीयबाट आयातित नै छ बजारमा।’
खुद्रा बजारमा केराको मूल्य १५० रूपैयाँ दर्जनमा बिक्री भइरहेको छ। नेपाली मालभोग केरा पनि यही दरमा छ। यसलाई बोटमा नै ७ रूपैयाँ कोसा तिर्नु पर्ने बानियाँ बताउँछन्। भारतबाट दैनिक एक सय टन जति केरा कुलेश्वर फलफूल बजारमा भित्रिने गर्छ। हाल नेपाली केरा कुलेश्वर बजारमा नभित्रिएको उनी बताउँछन्।
नेपालमा केरा खेती गर्न हावापानी सुहाउँदो छ। खेती पनि पूर्वदेखि पश्चिमसम्मका जिल्लामा भइरहेकै हो। तर, किन नेपाली उत्पादनले भाउ पाउँदैन ?
बजारले खोजेको जस्तो आकार र गुणस्तर नहुनु नै स्वदेशी उत्पाउनका लागि बजार जटिल भएको बानियाँको भनाइ छ। ‘चितवनको केरा निकै सानो हुन्छ। न यहाँ होटल व्यवसायीले लिन्छन्, न उपभोक्ताले नै रुचाउँछन्। चितवनमा अहिले पाँचदेखि ६ रूपैयाँ कोसामा बिक्री भइरहेको छ। त्यो ल्याएर यहाँ ढुवानी खर्च सबै तिरेर तिन रूपैयाँ पिस पनि बिक्री नभएपछि हामीले मगाएर नास गरेर त फाइदा भएन,’ उनले भने।
बानियाँको प्रष्टीकरणसँग किसानहरु सन्तुष्ट छैनन्। स्वदेशी उत्पादन सस्तो मूल्यमा उठाउन व्यापारीले अनेक खोट लगाउने उनीहरूको गुनासो छ। ‘कोसा सानो र हेर्दा राम्रो नदेखिने भन्दै सस्तो मूल्य लगाउँछन्, तर वास्तवमा हाम्रो उत्पादन कम गुणस्तरको चाहिँ होइन,’ महतो दाबी गर्छन्।
बानियाँका अनुसार कैलालीको टिकापुर, नवलपरासीको त्रिवेणी, झापाको केराको गुणस्तर राम्रै छ। तर चितवनको केराको गुणस्तर नभएको भएर काठमाडौं बजारले भित्र्याउन नसकेको उनको जिकिर छ। चितवनबाहेकका अन्य जिल्लाका लागि काठमाडौंसम्मको ढुवानी लागत बढी पर्छ।
‘भारतबाट आउने केराको गुणस्तरदेखि ग्रेडिङ प्याकेजिङ राम्रो हुन्छ। प्याकेजिङको खर्च नै १० रूपैयाँ जति पर्न आउँछ। भारतबाट आउने केरामा फर्महरू हालेर पातहरू राखेर सुरक्षित तरिकाले प्याकेजिङ गरेर पठाइन्छ,’ उनी प्रष्ट पार्छन्, ‘त्यसैले पनि ताजा र दाग नलागिकन काठमाडौं भित्रिन्छ।’ स्वदेशी उत्पादन बजार पठाउन फलाउँदादेखि प्याकेजिङसम्म राम्रो तयारी पुर्याउनुपर्ने उनको भनाइ छ।
बानियाँको प्रष्टीकरणसँग किसानहरु सन्तुष्ट छैनन्। स्वदेशी उत्पादन सस्तो मूल्यमा उठाउन व्यापारीले अनेक खोट लगाउने उनीहरूको गुनासो छ। ‘कोसा सानो र हेर्दा राम्रो नदेखिने भन्दै सस्तो मूल्य लगाउँछन्, तर वास्तवमा हाम्रो उत्पादन कम गुणस्तरको चाहिँ होइन,’ महतो दाबी गर्छन्।
स्वदेशी उत्पादनले बजार नै नपाएको भन्ने भनाइसँग बानियाँ सहमत छैनन्। उनका अनुसार करिब नौ महिना जति आयातमा भर परे पनि तीन महिना स्वदेशी उत्पादन बजारमा हुन्छ। ‘आउन त अहिले पनि आउँछ तर थोरै,’ उनले भने, ‘विशेषगरी, मालभोग केरा साउनबाट नै बजार भित्रिन्छ नेपाली जी लाइन केरा भदौदेखि कात्तिकसम्म आउँछ। यी महिनाहरूमा जस्तो भए पनि स्वदेशी उत्पादनले बजार पाएको हुन्छ।’ तर, स्वदेशी उत्पादन बजार मागका अनुपातमा आपूर्ति निकै कम हुने उनी बताउँछन्।
दाल, चामल जस्तो अत्यावश्यक होइन केरा। तर, बर्सेनि अर्बौँको आयात हुने गरेको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको १० महिनामा भारतबाट एक अर्बभन्दा बढीको केरा आयात भएको छ।
कार्टुनमा नै भारतीय केरा ३०० रूपैयाँ महँगो पर्छ। बढेको भन्सार तथा ढुवानी खर्च तिरेर पनि किन व्यापारीहरू भारतीय केरा नै बजार भित्र्याइरहेका छन् भनेर सरकारले सोच्नुपर्ने बानियाँको तर्क छ।
उनी भन्छन्, ‘यहाँको केराको लागि बजार दिलाउन गुणस्तरमा प्रतिष्पर्धा गर्न सक्नुपर्छ। त्यो राज्यले हेर्ने हो, आयात बन्द गर्ने की कृषिविज्ञ खटाउने वा अनुदान दिएर हुन्छ कि नयाँ प्रविधि भित्राउने हो कि, नयाँ बिउ लगाउने हो कि। त्यतातिर ध्यान जान पर्छ।’
चितवन केरा व्यवसायी संघका पूर्वअध्यक्ष घनश्याम महतोका अनुसार गत वर्ष चितवनमा ३५ सय बिघामा ६५ हजार टन केरा उत्पादन भएको थियो। दुई अर्बको कारोबार भएको थियो। यो वर्ष भने ३२ सय बिघामा मात्रै लगाइएको छ। काठमाडौंको बजार नपाएको चितवनको केरा विशेषगरी बुटवल, पोखरा, दाङ लगायतका सहरमा बिक्री हुने महतो बताउँछन्।
source bizmandu.com