ठमेलमा बाराही ग्रुपको नयाँ होटल ‘बाराही काठमाडौं’ सञ्चालनमा

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं । बाराही हस्पिटालिटी अन्तर्गत काठमाडौंको ठमेलमा नयाँ होटल ‘बाराही काठमाडौं’ जेठ ७ गते (आइबार)देखि सञ्चालनमा आएको छ । फोर स्टार स्ट्यान्डर्ड होटलमा आठ वटा सुइट र ७२ वटा डिलक्स रुम गरि ८० वटा रुम छन् ।

डिलक्स रुमको अफर शुल्क सय डलर रहेको बाराही हस्पिटालिटीका कर्पोरेट डाइरेक्टर योगेन्द्र थापाले बताए । होटलमा कफी सप, रेष्टुरेण्ट, बार, प्राइभेट डाइनिङ हल छन् । लाउन्ज र थिएटर सेटअपमा १२० जना अट्ने सभा हल केही हप्तामा तयार हुँदैछ ।

केशरमहलको अगाडि चोकैमा रहेको होटलको सातौं तलामा ’इन्फिनिटी स्वीमिङ पुल’ छ । स्वीमिङ पुलको मोहोडा तर्फ नारायणहिटी दरबार रहेकाले मनमोहक दृश्य रहेको थापा बताउँछन् । साँढे चार फिट गहिरो स्वीमिङ पुल करिब ११०० स्क्वायर फिटमा फैलिएको छ ।

बाराही ग्रपले व्यावसायिक कम्प्लेक्ससहितको होटल निर्माण गरेको हो । कम्प्लेक्सको भुँइतलादेखि तीन तलासम्म अफिस र विभिन्न पसल रहने छन् भने बाँकी ६ तलामा होटल छ ।

काठमाडौंको ‘मिड पोइन्ट’मा रहेको होटल बाराहीबाट काठमाडौं उपत्यकाको चारैतिरका सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । वीर शमसेरले बनाएको फोहोरा दरबार, स्वप्न बगैंचा र नारायणहिटी दरबार होटलको आँगनमै भएको अनुभुति हुन्छ । घण्टाघर, धरहरा, वसन्तपुर दरबार, ठमेल बजार, स्वयम्भू तथा उत्तरतर्फ शिवपुरीको हरियालीसँगै हिम श्रृंखला देख्न सकिन्छ ।

सपिङ कम्प्लेक्स सहितको होटल निर्माण गर्न करिब एक अर्ब चालिस करोड रुपैयाँ खर्च भएको थापाले बताए । पसल तथा अफिसका लागि बुकिङ पनि खुल्ला छ । सपिङ कम्प्लेक्स सहित होटल रहेको बाराही प्लाजाको आर्किटेक्टको काम ‘डिजाइन सेल’का अरुण देव पन्त र अन्जन श्रेष्ठले गरेका हुन् भने इन्टेरियर डिजाइनको काम सिद्धार्थ गोपालानले गरेका हुन् ।

नेपालली पर्यटनको ‘गोल्डेन ट्र्याङ्गल’ मानिएको पोखरा, चितवन र काठमाडौं मध्ये यस अगाडि पोखरा र चितवनमा बाराही ग्रुपको ‘प्रिमियम प्रपर्टी’ थियो । बाराही काठमाडौंको सुरुवातसँगै अब बाराहीले गोल्डन ट्र्याङ्गल भरी आफ्नो सेवा विस्तार गर्न सफल भएको छ ।

४ दशक अगाडि पोखराको लेकसाइडमा हरिप्रसाद पौडेलले ९ कोठा प्याराडाइज गेस्ट हाउस सुरू गरेका थिए, सोही होटलमा पछि सुबिधा थप गरि होटल बाराही नामाकरण गरिएको हो ।

पौडेलले हस्पिटालिटी क्षेत्रमा देखाएको बाटो पछ्याउँदै उनका छोराहरू विप्लव र वैभव सोही व्यवसायमा आवद्ध छन् । सामान्य स्तरबाट सुरू भएको बाराहीमा त्यतिबेला प्रतिकोठा १० रुपैयाँ रहेको थापाले बताए ।

 

बाराही ग्रुपको लगानीमा चितवनमा बाराही जंगल लज, पोखरामा होटल बाराही, व्यञ्जन रेस्टुरेन्ट, सराङकोट माउन्टेन लज, आवास पोखरा, द बिच बार एन्ड लज समेत सञ्चालनमा छन् ।

बाराही ग्रुपको नेतृत्वमा पोखराको सेदीमा पाँचतारे होटल निर्माणाधीन छ, जहाँ १२ सय क्षमताको सभाहल समेत बन्दैछ । पब्लिक लिमिटेड कम्पनी रहेको बाराही सेदी लिमिटेड सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपीओ)मा समेत जाने थापाले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्