सिंगापुरको सरकारी स्वामित्व रहेको इक्विटी फण्ड टेमासेकले भारतको दोस्रो ठूलो हस्पिटल चेन मणिपाल हेल्थ इन्टरप्राइजेजको प्रमुख सेयर हिस्सा किनेको छ।
३ अर्ब ६० करोड डलर बरारबको मूल्यांकन भएको मणिपाल हेल्थ इन्टरप्राइजेजको ५९ प्रतिशत सेयर टेमासेकको स्वामित्वमा आएको हो।
यसअघि नै टेमासेकको स्वामित्वमा रहेको सियर्स हेल्थसँग मणिपालको १८ प्रतिशत सेयर थियो। हाल कम्पनीले अन्य प्रवर्द्धकहरु तथा लगानीकर्ताहरुबाट थप ४१ प्रतिशत सेयर किनेको हो।
कम्पनीले मणिपालका प्रवर्द्धकमध्येका एक संजय पाइ र उनको परिवारको स्वामित्वमा रहेको सेयर किनेको छ। पाइ परिवारले सेयर बिक्री गरेपछि उनीहरुको मणिपालमा सेयर स्वामित्व ३० प्रतिशतमा खुम्चिएको छ। पाइको यसअघि कम्पनीमा ५२ प्रतिशत सेयर थियो।
यसैगरी मणिपालमा लगानी गरेको प्राइभेट इक्विटी जायन्ट टीपीजी क्यापिटल म्यानेजमेन्टको सेयर पनि २२ बाट ११ प्रतिशतमा झरेको छ। मणिपालमा भारतको नेशनल इन्भेष्टमेन्ट एण्ड इन्फ्रास्ट्रक्चर फण्डको १० प्रतिशत सेयर रहेकोमा उ पूर्णरूपमा बाहिरिएको बताइएको छ।
टेमासेकले पहिलोपटक ६ वर्ष पहिले मणिपालमा लगानी गरेको थियो। यसअघि १८ प्रतिशतका मालिक रहेको टेमासेकले अब मणिपालको सबैभन्दा ठूलो स्वामित्व पाएको छ।
प्राइभेट इक्विटीहरुबाट लगानी प्राप्त मणिपालले आफ्नो स्वास्थ्य सेवा बिस्तार गर्दै भारतकै दोस्रो ठूलो चेन हस्पिटल बनेको हो। भारतमा एपोलो हस्पिटलपछि यसलाई सफल चेन मानिन्छ।
टेमासेकले यसअघि नै चेन्नईस्थित आँखा अस्पताल चेन डा. अग्रवाल्स हेल्थकेयरमा २ अर्ब ७० करोड भारु लगानी गरेको थियो।
टेमासेक इन्भेष्टमेन्ट कम्पनीले भारतको उदाउँदो स्वास्थ्य सेवा बजारमा नयाँ अस्पतालहरुसँग रणनीतिक साझेदारी, खरिद तथा लगानी गर्दै आएको छ।
टेमासेकले भारतमा फर्मास्युटिकललक्षित प्लाटफर्म इन्टरग्रेस, इ-फार्मेसी स्टार्टअप फर्म इजी, ग्लनेमार्क फर्मास्युटिकल्स र फिजिकल फिटनेस प्लाटफर्म क्योरफिटमा समेत लगानी गरेको छ।
एक दशकयता टेमासेकले स्वास्थ्य सेवा सम्बन्धित क्षेत्रमा मात्रै ५० करोड अमेरिकी डलर लगानी गरिसकेको छ।

भारतको स्वास्थ्य सेवा क्षेत्र तीव्र रूपमा बिस्तार भइरहेको बजार हो। यसमा ८० प्रतिशत नियन्त्रण निजी क्षेत्रको छ। पछिल्लो समय भारतमा प्रधानमन्त्री मोदीले अघि सारेको ‘मोदी केयर’ प्लानका नामले चर्चित राष्ट्रिय स्वास्थ्य सुरक्षा मिसन एनएचपीएम अभियानका कारण पनि निजी स्वास्थ्य सेवाहरुको तीव्र बिस्तार भइरहेको हो।
निजी अस्पतालहरुले राज्यले उपलब्ध गराउने सहयोग र सुविधामार्फत ४० प्रतिशतभन्दा बढी जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउनु यो अभियानको लक्ष्य हो। मोदी केयर अभियानमार्फत निजी स्वास्थ्य सेवालाई बिस्तार गर्दै साना सहरहरुसम्म पुर्याउने र अस्पतालको पहुँच प्रमुख गरी पिछडिएका तथा दलित समुदायका जनतासम्म पुर्याउने योजना प्रधानमन्त्री मोदीले अघि सारेका हुन्।
भारतको स्वास्थ्य सेवा क्षेत्रमा भइरहेको यो बिस्तारमा इक्विटी फण्डहरुले ठूलो लगानी पनि गरिरहेका छन्। टेमासेकको लगानी पनि भारतमा फैलिरहेको स्वास्थ्य सेवाको बजारमा देखिएको सम्भावनाकै कारण बढेको हो।
हाल मणिपालले केरलाको केआईएमएस हेल्थ हस्पिटललाई समेत अक्वायर गरिसकेको छ भने इमामी ग्रुपको एडभान्स्ड मेडिकेयर एण्ड रिसर्च इन्स्टिच्युट एएमआरआई हस्पिटलसँग पनि डिल भइसकेको छ। अब मणिपाल अस्पताल आफ्नो युनिटलाई तीव्ररूपमा बिस्तार गर्दै एपोलोलाई टक्कर दिएर भारतकै ठूलो अस्पताल चेन बन्ने प्रतिस्पर्धा गर्दैछ।