
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका विभागीय प्रमुखलाई पाँच दिनभित्र लिखित रूपमा सुझाव दिन निर्देशन दिएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा बसेको ३४ विभागीय प्रमुखहरूको बैठकलाई सम्बोधन गर्दै उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई सहयोग पुग्नेगरी सुझाव दिन आग्रह गरेका हुन् ।
आगामी आर्थिक वर्षको बजेट दीर्घकालीन रूपमा महत्त्व राख्ने बजेट ल्याउन लागेकाले आ–आफ्नो विभागका तर्फबाट सुझाव दिन निर्देशन दिएका हुन् ।
‘अहिलेको व्यवस्था बमोजिम कस्तो बजेट ल्याउनुपर्छ ? त्यसमा आ-आफ्ना सुझाव पाँच दिनभित्र दिनुस्’ प्रचण्डको भनाई उदृढ गर्दै नेता डोरप्रसाद उपाध्यायले भने, ‘हरेक वर्ष परम्परागत खालको आउन थाल्यो । यो पटक त्यो सबै ब्रेक गर्नेगरी बजेट ल्याउनु प¥यो । त्यसमा तपाईँका के कस्ता सुझाव छन् दिनुप¥यो ।’
आ-आफ्नो विभागको बैठक बसेर नीति तथा कार्यक्रमलाई सहयोग पुग्नेगरी सुझाव दिन आग्रह गरेको उपाध्यायले बताए । विभागहरुले विषय विज्ञहरुलाई समेत राखेर प्रधानमन्त्रीलाई लिखित रूपमा सुझाव दिने तयारी गरेका छन् । माओवादीका ३४ विभागमध्ये अधिकांश निष्क्रिय भएकाले कस्तो सुझाव आउँछ भन्ने विषयमा महत्त्वका साथ हेरिएको छ ।