घाटामा मस्क र बेजोसलाई उछिने अडानीले, घटे अर्बपति

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं । अर्बपतिहरु एलन मस्क र जेफ बेजोसलाई घाटामा भारतीय अडानी समूहका अध्यक्ष गौतम अडानीले उछिनेका छन् । तीनैको सम्पत्ति घटेको फोर्ब्सले जारी गरेको अर्बपतिको सूचिमा देखिएको छ ।

संसारकै सबैभन्दा धनी भनिएका एलन मस्क यो वर्ष ३९ अर्ब डलर सम्पत्ति घटेर दोस्रो नम्बरमा आइपुगेका छन् । यसअघि दोस्रो स्रथानमा रहेका बेजोस ५७ अर्ब डलर गुमाएर तेस्रो नम्बरमा पुगेका छन्। मस्क र बेजोसको भन्दा अडानीले सम्पत्ति धेरै गुमाएकका छन् ।

आडानीले सबैभन्दा धेरै ७८.८ अर्ब डलर को सम्पत्ति गुमाएका छन् । यसअघि अडानी संसारको तेस्रो धनी व्यक्ति थिए। त्यसबेला उनको कुल सम्पत्ति लगभग १ सय २६ अर्ब डलर थियो । हिन्देनबर्ग रिसर्चले जारी गरेको प्रतिवेदनपछि उनीहरुको कम्पनीको शेयर घटेको हो । उनको कुल सम्पत्ति अहिले ४७.२ अर्ब अमेरिकी डलर छ ।

विश्वका धनी व्यक्तिको सूचीमा पहिलो नम्बरमा बर्नार्ड अर्नाल्ट, दोस्रोमा एलन मस्क र तेस्रोमा जेफ बेजोस छन् । विश्वका धनी व्यक्ति फ्रान्सका बर्नार्ड अर्नाल्टसँग २ सय ११ अर्ब डलर सम्पत्ति रहेको छ ।

एलन मस्कले ट्वीटर किनेर विश्वकै धनी व्यक्तिको उपाधि गुमाएका छन् । टेस्लाको शेयरमा आएको गिरावट र ट्विटर किन्न शेयर बेचेका कारण मस्कको कुल सम्पत्ति एक वर्ष अघिको तुलनामा ३९ अर्ब डलरले घटेको छ । जसका कारण उनी १ सय ८० अर्ब डलरको सम्पत्तिका साथ एक नम्बरबाट दोस्रो नम्बरमा झरेका छन् ।

तर जेफ बेजोसले अमेजनको शेयर ३८ प्रतिशतले घट्दा सबैभन्दा बढी पीडा भोग्नु परेको छ । यो गिरावटले बेजोसको कुल सम्पत्ति ५७ अर्ब डलरले घटेको छ। सन् २०२२ मा उनी विश्वमा धनीहरूको सूचीमा दोस्रो थिए र यस वर्ष १ सय १४ अर्ब डलर सहित तेस्रो नम्बरमा पुगेका छन्।

चौथोमा १ सय ७ अर्ब डलरसहित ल्यारी एलिसन, पाँचौँमा १ सय ६ अर्ब डलरसहित वारेन बुफे, छैटौँमा १ सय ४ अर्ब डलरसहित माइक्रोसफ्टका संस्थापक बिल गेट्स, सातौँमा ९४.५ अर्ब डलरसहित माइकल ब्लूमबर्ग र आठौँमा ९३ अर्ब डलरसहित मेक्सिकोका कार्लोस स्लिम हेलु रहेका छन् ।

यस सूचीमा रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष तथा प्रबन्ध निर्देशक मुकेश अम्बानी ८३.४ अर्ब डलरसहित ९ औँ स्थानमा छन् । सूचीको दशौं स्थानमा माइक्रोसफ्टका स्टिभ बाल्मर ८०.७ अर्ब डलर रहेको छ ।

यस वर्ष अर्बपतिहरूको सङ्ख्या घटेको छ । गत वर्ष फोर्ब्सले जारी गरेको अर्बपतिहरूको सूचीमा कुल २ हजार ६ सय ६८ व्यक्तिहरू समावेश थिए। भने यस वर्ष अर्बपतिहरूको सङ्ख्या घटेर २ हजार ६ सय ४० पुगेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्