पोखराको फूलबारी रिसोर्टका सञ्चालक ऋण तिर्न तयार, पुनः सञ्चालनमा आउने!

समाचार बिज
  • ख-
  • ख+

करिब दुई दशकदेखि बन्द रहेको पोखराको पाँचतारे डिलक्स होटल फूलबारी रिसोर्ट पुनः सञ्चालनमा आउने भएको छ। सञ्चालक पीयुषबहादुर अमात्यले नेपाल बैंकको ऋण तिर्न तयार भएसँगै फूलबारी रिसोर्ट सञ्चालनमा आउने भएको हो।

अमात्य साँवा र ब्याज तिर्न तयार भएको नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले सेतोपाटीलाई बताए।

लामो समयको विवाद अन्त्य गर्दै बैंक र रिसोर्टका सञ्चालक अमात्यबीच सम्झौता भएको उनको भनाइ छ। यसका लागि करिब अन्तिम चरणको छलफल भइरहेको सिइओ अधिकारीले  बताए।

‘अहिलेसम्मको छलफलअनुसार सञ्चालक अमात्यजी बैंकको ऋण तिर्न तयार हुनुभएको छ,’ अधिकारीले भने, ‘अब अन्तिम चरणको छलफल बाँकी छ। केही दिनमै निष्कर्ष आउनेछ।’

उनका अनुसार अमात्य बैंकलाई साढे दुई अर्ब रूपैयाँभन्दा धेरै रकम तिर्न तयार भएका छन्। सम्झौताअनुसार २०८० असार मसान्तभित्र बैंकले सम्पत्ति फुकुवा गर्नेछ।

खराब कर्जा असुलीका लागि लामो समयको विवाद अन्त्य गरी सञ्चालक अमात्यसँग सम्झौता गरेर अघि बढेको सिइओ अधिकारीले बताए।

लामो समयदेखि बन्द फूलबारी रिसोर्टको कर्जा उठाउन बैंकले ताकेता गरिरहेको थियो। यसअघि गत असारमा बैंकले उक्त रिसोर्ट लिलामी प्रक्रियामा पनि लगेको थियो। नेपाल बैंकले गत असार ३ गते ३५ दिने सूचना निकालेर जग्गा, जमिन र रिसोर्ट भवन लगायतको सम्पत्ति लिलाम गर्न सूचना प्रकाशित गरेको थियो।

पोखरा महानगरपालिका–१५ मा रहेको होटल तथा यसले चर्चेको १२४ रोपनी जग्गा, सञ्चालक अमात्यको नाममा ६ रोपनी र गंगा अमात्यको नाममा रहेको ७ रोपनी सात आना जग्गा लिलामी गरेर ऋण असुली गर्न लिलामीमा राखिएको थियो। तर उक्त समयमा रिसोर्ट लिलामीका लागि एक कम्पनीले मात्र बोलकबोल गरेको थियो।

रिसोर्ट लिलामीका लागि एलिमेच इन्टरनेसनल कम्पनीले दुई अर्ब ७५ करोड रूपैयाँमा बोलकबोल गरेको थियो। बैंकले प्रस्ताव गरेभन्दा कम रकममा बोलकबोल गरेपछि उक्त प्रस्ताव अस्वीकार भयो। तत्कालीन सयमयमा रिसोर्ट सञ्चालक मुद्दामा गएकाले लिलामीका लागि प्रतिस्पर्धामा अन्य कम्पनी आउन सकेनन्।

बैंकले लिलामीको सूचना प्रकाशित गरेपछि रिसोर्ट सञ्चालक अमात्यले त्यसविरूद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए। उक्त मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले गत साउन १५ गतेसम्मका लागि लिलामी प्रक्रिया रोक्न अन्तरिम आदेश दिएका थिए।

अदालतले अन्तरिम आदेश निरन्तर हुने वा नहुने निर्णय गर्न दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो। बैंकका अनुसार दुवै पक्षसँगको छलफलपछि रिसोर्टको असुली प्रक्रिया निरन्तरता दिन सकिने गरी उच्च अदालतले फैसला गरेको छ। यो फैसलासँगै रिसोर्ट लिलामीका लागि बाटो खुलेको थियो।

होटलले २०५५ सालमा एक अर्ब ३१ करोड रूपैयाँ कर्जा लिएको थियो। हाल त्यसको साँवा–ब्याजसहित करिब ३ अर्ब पुगिसकेको बैंकले उल्लेख गरेको छ।

सन् १९९८ (बिक्रम सम्वत् २०५५) मा पहिलोपटक नेपाल भ्रमण वर्ष मनाउँदै गर्दा व्यवसायी अमात्यले पोखरामा ‘वान अफ द ग्रेटेस्ट होटल इन द वर्ल्ड’ भन्ने थिममा फूलबारी रिसोर्ट खोलेका थिए।

यसमा राष्ट्रिय वाणिज्य बैंकको ३५ करोड र नेपाल बैंकको ६५ करोड लगानी थियो भने कर्मचारी सञ्चय कोषबाट ९६ करोड रूपैयाँ जुटाइएको थियो।

चार सय रोपनी जग्गामा फैलिएको रिसोर्टमा एक सय ६५ कोठा छन्। पोखराको केन्द्रमा रहेको फूलबारी रिसोर्ट केही वर्ष राम्रै चल्यो। रिसोर्टमा खर्चालु पर्यटकको उपस्थिति हुन्थ्यो। त्यति बेला रिसोर्टले राम्रै आम्दानी गरेको थियो। पछि माओवादी द्वन्द्व, मजदुर आन्दोलन लगायत विभिन्न कारणले रिसोर्ट सञ्चालन हुन सकेन। सञ्चालक अमात्यले ऋण तिर्न सकेनन्। उनी बैंकहरूको खराब ऋणीको सूचीमा परे।

पछि सरकारले ‘पर्यटन वर्ष २०२०’ मनाउने तयारी गर्दैगर्दा बन्द रहेको फूलबारी रिसोर्टलाई अन्तर्राष्ट्रिय चेन होटल ‘मेरियट ग्रुप’ ले व्यवस्थापन लिने गरी पुनः सञ्चालनमा ल्याउने तयारी गरेको थियो।

त्यति बेला मेरियट समूहले सञ्चालन गर्ने शर्तमा होटल सञ्चालन गर्न मर्मतसम्भार थाल्ने भनेर ऋणको पुनर्संरचना र पुनर्तालिकीकरण समेत गरिएको थियो। त्यसको दुई वर्ष बितिसक्दा पनि अमात्यले ऋण तिर्न सकेनन्। फलस्वरूप बैंकले लिलामी प्रक्रिया अगाडि बढाएको थियो।

पछिल्लो केही महिनायता निरन्तरको छलफलपछि भने सञ्चालक अमात्य साँवा र ब्याज दुवै तिर्न तयार भएका हुन्।

‘यो सम्झौतासँगै लामो समयदेखि खराब कर्जाका रूपमा रहेको हाम्रो कर्जा उठ्ने भएको छ,’ नेपाल बैंकका सिइओ अधिकारीले भने, ‘उहाँले होटल पुन: सञ्चालन गर्ने र ऋण पनि चुक्ता गर्नमा सम्झौता गर्नुभएको छ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्