अर्थमन्त्रीले एफएनसीसीआई अध्यक्ष गोल्छालाई टेलिफोन गर्दै भने, ‘सहकार्य गरेर अघि बढौं

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं। नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्रको आत्मविश्वास बढाउने रणनीति लिएका छन्। अर्थतन्त्र अत्यन्तै खराब अवस्था रहेका बेला अर्थमन्त्रीको बागडोर सम्हाल्न आइपुगेका महतले पदवहालीसँगै निजी क्षेत्रलाई आत्मविश्वासमा लिएर अघि बढ्ने रणनीति लिएका हुन्।

उनले उद्योगीव्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छालाई टेलिफोन गरेर सहकार्य गरेर अघि बढ्न आग्रह गरेका छन्।

‘म अर्थमन्त्रीको रुपमा आएको छु। हामी मिलेर अघि बढ्नुपर्छ,’ उनले केही बेर अघि टेलिफोन गरेर भनेका थिए, ‘निजी क्षेत्र अर्थतन्त्रको बलियो खम्बा भएकाले हामीसँगै हिड्नुपर्छ।’ अर्थमन्त्री महतले सहकार्य गरेर अघि बढ्न गरेको आग्रहप्रति गोल्छा उत्साहित हुँदै भनेका थिए, ‘अहिलेको कठिन अवस्थामा हामीले तपाइँजस्तो अर्थमन्त्री पाउनु खुशीको विषय हो। हामी पनि तपाइँसँग धेरै नै आशावादी छौं।’

अर्थमन्त्री महतले नेपाल उद्योग परिसंघ अध्यक्ष विष्णुकुमार अग्रवाल र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ललाई समेत सहकार्य गरेर अघि बढ्न आग्रह गर्ने स्रोतले बतायो।

‘उहाँ निजी क्षेत्रलाई कन्फिडेन्समा लिएर अघि बढ्न चाहनुभएको छ। अहिले अंक खराब भएका बेला कन्फिडेन्सले अर्थतन्त्र चलायमान भएर सुधार हुने अपेक्षा उहाँले राख्नु भएको छ,’ महतको सचिवालयका एक सदस्यले भने, ‘त्यही भएर उहाँले निजी क्षेत्रसँग सम्वन्धित विभिन्न संस्थाका अध्यक्षहरुलाई सहकार्यका लागि आग्रह गर्नुभएको हो।

यो सेयरबजारदेखि अरु क्षेत्रसँग सम्वन्धित व्यक्तिहरुलाई पनि आग्रह गरिनेछ।’ महत आएपछि सुरुमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग वान टु वान मिटिङ गरेर समन्वय गरेर अघि बढ्ने छनक दिइसकेका छन्। अर्थमन्त्री महतले अहिलेको खराब अर्थतन्त्र सुधार्न मिलेर जाने प्रस्ताव गरेका थिए।

पछिल्लो समय अर्थमन्त्री र गभर्नरबीच सम्बन्ध बिग्रिँदा आर्थिक नीति र मौद्रिक नीतिबीच तालमेल हुन सकेन। जसले अर्थतन्त्रमा थप समस्याहरु देखिए। तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर अधिकारीबीचको तिक्त सम्बन्धका कारण चालू पुँजी कर्जा, ब्याजदरलगायतका विषयले समस्या थप बल्झियो।

त्यही कारण नवनियुक्त अर्थमन्त्रीले गभर्नर अधिकारीसँग मिलेर जाने सन्देश दिन खोजेका हुन्। महतभन्दा अघिल्ला अर्थमन्त्री विष्णु पौडेलले गभर्नर अधिकारीलाई हरेक कार्यक्रममा साथमा राख्थे र राष्ट्र बैंकले ल्याएका केही नीतिगत व्यवस्थालाई सहजीकरण गर्न पनि सफल भएका थिए। त्यसले सेयर बजार, उद्योगी व्यवसायीको मनोबल बढ्दा अर्थतन्त्र केही चलायमान बन्ने संकेत देखिएको थियो।

गभर्नर अधिकारीलाई तत्कालीन शेरबहादुर देउवा सरकारले विभिन्न आरोप लगाउँदै निलम्बन गरेको थियो। निलम्बनसँगै अधिकारी सर्वोच्च अदालत पुगे। र त्यहाँबाट अधिकारी पुनर्स्थापित भए। देउवा सरकारकै पालामा निलम्बन भएकाले समेत गभर्नर अधिकारी कांग्रेससँग सन्तुष्ट छैनन्। त्यही असन्तुष्टीलाई सम्बोधन गर्न अर्थमन्त्री महतले रणनीतिकरुपमा प्राथमिकता दिएरै गभर्नर अधिकारीलाई सँगसँगै जान प्रस्ताव गरेका छन्। साथै कांग्रेससँग चिसिएको सम्बन्ध सुधार्न खोजेको देखिन्छ

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्