पर्यटन मन्त्रालयको दबाबपछि चर्को भाडा असुलेको कोरियन एयरले १५ हजार रुपैयाँ घटायो

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं। पर्यटन मन्त्रालयको दबाबपछि चर्को भाडादर असुलेको कोरियन एयरले १५ हजार भाडा घटाएको छ।

मन्त्रालयका सचिव सुरेश अधिकारीले कोरियन एयरले १५ हजार भाडा घटाएको बताउँदै त्यसले वैदेशिक रोजगारीमा जानेलाई केही भएपनि राहत हुने धारणा राखे।

उनका अनुसार सुरुमा खुला बजार अनुसार भाडा घटाउन दबाब दिन नहुने भन्दै कम्पनीले आनाकानी गरेको थियो। कोरियन एयरले एकाधिकारको फाइदा उठाउँदै काठमाडौं-सिओलको भाडा दुई लाख रुपैयाँसम्म लिएपछि पर्यटनमन्त्री सुदन किराँतीले भाडा घटाउन निर्देशन दिएका थिए।

त्यही निर्देशन अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले कोरियन एयरसँग छलफल गरेको थियो। अधिकारीले कोरियन एयरको एकाधिकार तोड्न नेपाल वायुसेवा निगमको उडान आवश्यक रहेको र निगमले पनि प्रक्रिया अगाडि बढाएको जानकारी दिए।

यसका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल-इन्चोन अन्तर्राष्ट्रिय विमानस्थल उडान पूर्व सेफ्टी अडिटका लागि नायब महाप्रबन्धक विक्रम केसीको संयोजकत्वमा १० सदस्यीय समिति समेत गठन भइसकेको छ। निगमले यो गन्तब्यमा उडान सुरु अध्ययन थालिसकेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्