उपेन्द्रलाई टक्कर दिन राजेन्द्र महतोले बारा-२ मा उम्मेदवारी दिने

समाचार बिज
  • ख-
  • ख+

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले अन्ततः वैशाख १० गते हुने उपनिर्वाचनमा बारा–२ बाट उम्मेदवारी दिने भएका छन् ।

उनी पार्टीका तथा नेता कार्यकर्ताहरुसँग छलफल गरेर उम्मेदवारी दिने मनस्थितिमा पुगेको लोसपाका एक कार्यकारिणी सदस्यले बताए । उनले भने, ‘बारा २ मा चुनावको तयारी गर्न हामीलाई भनिसक्नु भएको छ, उहाँले चुनाव लड्ने मनस्थिति बनाई सक्नुभएको छ ।’ लोसपाको आज बस्ने कार्यकारिणी समितिको बैठकले त्यसलाई औपचारिकता दिने बताइएको छ ।

मंसिर ४ को निर्वाचनमा नेता महतो सर्लाही–२ बाट पराजित भएका थिए । उनी नेसपाका महेन्द्रराय यादवसँग चुुनाव हारेका हुन् ।  सोही क्षेत्रबाट जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि  उम्मेदवारी दिने तय भएको छ । यस्तै जनमत पार्टीले माओवादी केन्द्रका शिवचन्द्र कुशवाहालाई उम्मेदवार बनाउने घोषणा गरिसकेको छ । त्यसका लागि कुशवाहा जनमत प्रवेश गरिसकेका छन् ।

यसअघि जनमत पार्टीले महतोलाई चुनाव लड्न आग्रह गरेपनि महतोले मानेका थिएनन् । अहिले आएर भने उनी चुनाव लड्ने निर्णयमा पुगेका हुन् । बारा २ बाट चुनाव जितेका रामसहाय यादव उपराष्ट्रपति बनेपछि सो क्षेत्र खाली भएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्