
पोखरास्थित एजुकेट नेपाल नामक संस्थाले रुकुम पूर्वका विद्यालयहरूमा १० लाख बराबरको शैक्षिक सामग्री वितरण गरेको छ । रुकुम पूर्वको उत्तरगंगा गाउँपालिकाका पुथा हिमालयन मावि, हिमालयन आधारभूत विद्यालय, नेपाल राष्ट्रिय आधारभूत विद्यालय लगायतका विद्यालयमै पुगेर विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
एजुकेट नेपाल संस्थाका अध्यक्ष लगायत सम्पूर्ण सदस्यहरुवाट १२ हजार प्रति कापी, ६ प्रति कलम, ८ प्रति पेन्सिल, इरेजर र शार्पनर विद्यार्थीलाई हस्तान्तरण गरेको हो ।
विभिन्न अन्य संस्था र शुभेच्छुकहरू मार्फत उक्त सहयोग गरिएको पौडेलले बताए । शैक्षिक सामग्री वितरणमा १० लाख जति रकम खर्च गरिएको उनको भनाइ छ ।
सहयोग हस्तान्तरण गर्न पोखराबाट पौडेलसँगै सोवित खाँण, निशान्त ढकाल, निशान लामिछाने, सन्देश रानाभाट, राजु दास, सराेज तिवारी, विज्ञान ढकाल लगायत रुकुम पूर्व पुगेका थिए ।
उक्त सहयोगका लागि पोखरास्थित विभिन्न स्कूलका विद्यार्थीहरूबाट कापी कलेक्सन गरिएको थियो भने गो फण्ड मी नामक सहयोग उठाउने संस्थाबाट १ लाख सहयोग उठेको थियो । त्यस्तै जापानस्थित लिटल नेपाल रेस्टुरेन्ट र पोखरास्थित कर्म फ्लाइट फाउन्डेसनले पनि सहयोग गरेको थियो ।
एक वर्ष अगाडि स्थापना भएको एजुकेट नेपाल नामको संस्थाले यो बीचमा पनि विभिन्न दुर्गम ठाउँका स्कूलका बालबालिकालाई सहयोग गर्दै आइरहेको छ ।
यस अगाडि कालिकोट, गोर्खा, तनहुँको बन्दीपुर लगायत विभिन्न ठाउँहरूमा पुगेर विद्यार्थीलाई सहयोग गरिएको संस्थाका अध्यक्ष पौडेलले बताए।