
१० फागुन, काठमाडौं । पूर्वराजस्व सचिव रामशरण पुडासैनी कृषि विकास बैंकको अध्यक्ष चयन भएका छन् । कृषि विकास बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले पुडासैनीलाई अध्यक्षमा चयन गरेको हो ।
यसअघि अर्थमन्त्रालयले पुडासैनीलाई कृषि विकास बैंकको सञ्चालक समिति सदस्य नियुक्त गरेको थियो । यसअघि कृषि विकास बैंकको अध्यक्ष रहेका रमेश दवाडीले राजीनामा दिएसँगै पुडासैनी अध्यक्षमा चयन भएका हुन् ।
दवाडी निवर्तमान अर्थमन्त्री जनार्दन शर्माका पालामा अध्यक्ष चयन भएका थिए । अर्थमन्त्री विष्णु पौडेल बनेपछि दवाडीको योग्यतामा प्रश्न उठेपछि उनले राजीनामा दिएका थिए ।