काठमाडौं। विप्रेषण (रेमिट्यान्स) प्राप्त गर्ने देशमा नेपाल विश्वको २३औं स्थानमा रहेको छ। पहिलो स्थानमा छिमेकी भारत छ। भारतले एक वर्षमा १ खर्ब अमेरिकी डलरबराबर रेमिट्यान्स प्राप्त गरेको छ।
नेपालले गत आर्थिक वर्ष १० खर्ब (करिब ८ अर्ब ५० करोड डलर) रेमिट्यान्स प्राप्त गरेको थियो। चालू आर्थिक वर्ष पाँच महिनामा २३ प्रतिशत बढेर ४ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ पुगेको छ।
रेमिट्यान्सको हिस्सा नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपी) को २१.७ प्रतिशत हुन आउँछ।तै पनि रेमिट्यान्सलाई जिडिपीमा गणना गरिँदनैन। कूल राष्ट्रिय आयमा मात्र गणना गरिन्छ।
केन्द्रीय तथ्यांक विभागले गत वैशाखमा सार्वजनिक गरेको वित्तीय विवरणअनुसार नेपालको जिडिपी आकार बढेर उपभोक्ता मूल्यका आधारमा ४८ खर्ब ५१ अर्ब ६३ करोड रुपैयाँ (३९ अर्ब डलर) छ। नेपालको अर्थतन्त्र रेमिट्यान्सले धानेको छ।
नेपालभन्दा अघि २२ औं स्थानमा युरोपेली मुलुक इटाली र पछि २४ औं नम्बरमा स्पेन छ। स्पेनले नेपालको जति साढे ८ अर्ब डलर र इटालीले ९ अर्ब डलर रेमिट्यान्स प्राप्त गरेका छन्। जिडिपीका आधारमा रेमिट्यान्स भित्र्याउनेमा नेपाल ११औं स्थानमा छ।
७ खर्ब ९४ अर्ब डलरको रेमिट्यान्स
विश्वमा एक वर्षमा विभिन्न देशले ७ खर्ब ९४ अर्ब डलरबराबर रेमिट्यान्स प्राप्त गरेका छन्। जसमध्ये कम आम्दानी भएको मुलुकको रेमिट्यान्स आप्रवाह हिस्सा १३ अर्ब डलर छ। यस्तै उच्च मध्यम भएका देशले ३ खर्ब ८५ अर्ब, माथिल्लो मध्य आय भएकाले २ खर्ब ३८ अर्ब र उच्च आय भएका देशले १ खर्ब ५६ अर्ब डलर रेमिट्यान्स प्राप्त गरेका छन्।
पहिलो स्थानमा भारत छ। भारतले एक वर्षमा १ खर्ब डलर रेमिट्यान्स प्राप्त गरेको छ। दोस्रोमा ल्याटिन अमेरिकी मुलुक मेक्सिको छ। मेक्सिकोले ६० अर्ब ३० करोड डलर पाएको छ। तेस्रोमा उत्तरी छिमेकी चीनले ५१ अर्ब, चौथो फिलिपिन्सले ३८ अर्ब, पाँचौं इजिप्टले ३२ अर्ब ३३ करोड र छैठौं पाकिस्तानले २९ अर्ब डलर रेमिट्यान्स पाएको छ।
सातौंमा फ्रान्सले २८ अर्ब १० करोड, आठौं बंगलादेशले २१ अर्ब, नवौं नाइजेरियाले २० अर्ब ९४ करोड र १० औं स्थानमा रहेकाे भियतनामले १९ अर्ब डलर रेमिट्यान्स प्राप्त गरेको भिजुअल क्यापिटलले जनाएको छ।
सबैभन्दा कम रेमिट्यान्स प्राप्त गर्ने देश तुर्किमेनिस्तान हाे। उसले १० लाख डलरमात्र रेमिट्यान्स पाएको छ। जिडिपीका आधारमा सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउनेमा टोङगा रहेको छ।
टोङगाले जिडिपीको ४९.९ प्रतिशत रेमिट्यान्स प्राप्त गरेको छ । सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने भारतको जिडिपीमा रेमिट्यान्सको हिस्सा २.९ प्रतिशतमात्र छ। लाभान्वित हुने देशहरूको सूचीमा भारत शीर्ष स्थानमा छ।
यसैबीच, विश्वभरिका न्यून र मध्यम आय भएका देश आफ्नो अर्थतन्त्र अझ बलियो बनाउन रेमिट्यान्स स्रोतमा धेरै निर्भर छन्। २०२२ मा रेमिट्यान्सले २५ देशको जिडिपीमा १५ प्रतिशतभन्दा बढी योगदान गरेको छ।
दक्षिण एसियामा सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउनेमा छिमेकी भारत छ। भारतले १ खर्ब डलर रेमिट्यान्स प्राप्त गरेको छ।
यस्तै दोस्रोमा पाकिस्तान, तेस्रोमा बंगलादेश चौथोमा नेपाल रहेको छ । यसैगरी पाँचौमा श्रीलंका छ। आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाले ३ अर्ब ६० करोड डलर मात्र रेमिट्यान्स भित्र्याएको छ।
अफगानिस्तान ३५ करोड डलरसहित छैठौं, साढे ५ करोड डलरसहित भुटान सातौं र ५० लाख डलरसहित माल्दिभ्स आठौं स्थानमा छ।
कोभिड महामारीले विश्वव्यापी अध्यागमन प्रवाहलाई २७ प्रतिशत सुस्त बनायो। यसका साथै यात्रा प्रतिबन्ध, जागिर गुमाउनु र बढ्दो स्वास्थ्य चिन्ताको अर्थ धेरै आप्रवासी कामदारले आफ्नो देशमा रहेका परिवारलाई रेमिट्यान्सका रूपमा पैसा पठाउन सकेनन्।
देशहरूले प्राप्त गरेको रेमिट्यान्सको यो प्रवाह २०२० मा विश्वव्यापीरूपमा १.५ प्रतिशतले घटेर ७ खर्ब ११ अर्ब डलरमा झरेकाे थियोे। तर, अर्को दुई वर्षमा अवस्था चाँडै पछाडि फर्कियो। भिसा स्वीकृतिहरू पुनः सुरु भएपछि र अन्तर्राष्ट्रिय सिमाना खुल्दा अन्तर्राष्ट्रिय आप्रवासन र विश्वव्यापी रेमिट्यान्स प्रवाह बढ्यो।
२०२१ मा कूल विश्वव्यापी रेमिट्यान्स आप्रवाह ७ खर्ब ८१ अर्ब डलर अनुमान गरिएको थियो र २०२२ मा थप बढेर ७ खर्ब ९४ अर्ब डलर पुगेको छ।
रेमिट्यान्सले विश्वभरिका देशकाे अर्थतन्त्रमा योगदान पुर्याएको छ। त्यसमध्ये पनि न्यून र मध्यम आय भएका देशहरूले ठूलो सहयोग गरेका छन्। ती देशले गरिबी कम गर्न, पोषण सुधार गर्न र विद्यालय भर्ना दर बढाउन मद्दत गर्न देखाइएको छ।
केही अनुसन्धानले रेमिट्यान्समा अत्यधिक निर्भरताले दुष्चक्र निम्त्याउन सक्ने देखाएको छ।